रूपन्देही । रूपन्देहीबाट निर्वाचित प्रतिनिधिसभा सदस्यहरूले यातायात क्षेत्रका समस्या समाधानका लागि आवश्यक कानुनी तथा नीतिगत सुधारमा पहल गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।
पश्चिम नेपाल बस व्यवसायी प्रालि बुटवलले विजया दशमी, दीपावली, छठ पर्व तथा नेपाल संवत्लगायत चाडपर्वका अवसरमा बिहीबार आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा सांसदहरूले यातायात क्षेत्रलाई व्यवस्थित, सुरक्षित र व्यावसायिक रूपमा सबल बनाउन विद्यमान कानुन समयानुकूल परिमार्जन गर्नुपर्नेमा जोड दिनुभएको हो ।
कार्यक्रममा प्रतिनिधिसभा सदस्य सुलभ खरेलले तीन तहका सरकारबीच समन्वयको अभाव, फरक-फरक नीति तथा कानुन, विकास निर्माणका जटिल प्रक्रिया र नियमनमा देखिएका कमजोरीले सरकारी कामकारबाही प्रभावित भइरहेको बताउनुभयो । उहाँले नवीन सोच र प्रभावकारी कार्यान्वयनमार्फत सार्वजनिक सेवा तथा विकास निर्माणलाई सहज बनाउनुपर्नेमा जोड दिनुभयो ।
सांसद मञ्जु भुसालले देशमा तीव्र पूर्वाधार विकास र सुशासन कायम गर्न सरकार तथा संसद् प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले सुकुमवासी समस्या समाधानलगायत विषयमा पनि सरकारले काम अघि बढाएको जानकारी दिनुभयो । विद्यमान कानुनलाई समयानुकूल सुधार गर्दै जनअपेक्षाअनुसार विकास निर्माण र सेवा प्रवाहलाई प्रभावकारी बनाउनुपर्ने उहाँको भनाइ छ ।
सांसद अमृता विकले यातायात क्षेत्रसहित समग्र व्यवसायीका हकहित संरक्षण र समस्या समाधानका लागि आफूहरू दृढतापूर्वक साथ दिएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । व्यवसायीले भोग्दै आएका समस्या समाधानका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराउने उहाँले बताउनुभयो ।


