बेनी नगरपालिका चिनाखेतवासीलाई पहिरोले दिएको पीडा

अ+
अ
अ-

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीस्थित चिनाखेतकी दिलमती छन्त्यालका लागि यस वर्ष दसैँतिहारको कुनै रौनक छैन । श्रीमान् गुमाउनुको पीडा, बस्ने घर र गोठ पहिरोले बगाएको चोट तथा खेतीयोग्य जमिन बगरमा परिणत भएको अवस्थाले उहाँलाई चाडपर्वको खुसीबाट टाढा बनाएको हो ।

यस वर्षको मनसुनजन्य विपद्ले दिलमतीको परिवारको सहारा र आश्रय दुवै खोसेको छ । श्रीमान् ७० वर्षीय लालवीर छन्त्याललाई पहिरोले सुतिरहेकै ठाउँमा पुरेर ज्यान लियो । श्रीमान् गुमाएको शोकमाथि घरगोठ, पशुचौपाया र खेतीपाती गर्ने जमिनसमेत गुमाउनुपर्दा दिलमतीको जीवनमा बज्रपात परेको छ । शरीरमा लागेको घाउ निको हुँदै गए पनि मनमा परेको चोट भने अझै ताजै छ ।

“दुःख परेको समयमा चाडपर्व पनि नआए हुन्थ्यो जस्तो लाग्नेरहेछ”, दिलमतीले भन्नुभयो, “जीवनको सहारा श्रीमानसँगै बस्ने बास पनि खोस्यो । चारवटा भैँसी र पाडासहितको गोठ बगायो । खेतीबाली लगाउने जमिन उराठलाग्दो बगर बनेको देख्दा मन थाम्नै गाह्रो हुँदोरहेछ ।”