काठमाडौं । साउदी अरबका लागि प्रस्तावित नेपाली राजदूत गिरीबहादुर सुनारको नाम संसदीय सुनुवाइ समितिले अस्वीकृत गरेको छ। उनीमाथि विभिन्न आरोप लागेपछि समितिले गरेको सुनुवाइका क्रममा उनको नाम अस्वीकृत भएको हो।
राजदूतका लागि सिफारिस भएसँगै सुनारमाथि विभिन्न आरोप सार्वजनिक भएका थिए। उनीमाथि जर्मन सरकारले हत्कडी लगाएर नेपाल डिपोर्ट गरेको, प्रहरीको डीआईजी बढुवाका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारसँग मिलेर ३३ लाख रुपैयाँ घुस लिएको आरोप लागेको थियो।
त्यस्तै, एक महिलासँग अवैध सम्बन्ध कायम गरेको तथा विवाह गर्ने आश्वासन दिएर मानसिक र पारिवारिक हिंसा गरेको आरोप पनि उनीमाथि लगाइएको थियो।
सुनारविरुद्ध विभिन्न सातवटा आरोप संसदीय सुनुवाइ समितिमा दर्ता भएका थिए। आज बसेको समितिको बैठकमा ती आरोपबारे प्रश्न गर्दा उनले आरोपहरूको पुष्टि हुने गरी जवाफ दिन नसकेको बताइएको छ। सुनुवाइका क्रममा उनले केही आरोप स्वीकार गरेको दाबीसमेत गरिएको छ।
यी आरोप र सुनुवाइका क्रममा उठेका प्रश्नहरूबीच संसदीय सुनुवाइ समितिले साउदी अरबका लागि प्रस्तावित राजदूत सुनारको नाम अस्वीकृत गरेको हो।
यसैबीच, केही दिनअघि रास्वपाका सांसद खगेन्द्र सुनारसँग सम्बन्धित एक महिलालाई आर्थिक, शारीरिक तथा मानसिक यातना दिएको भनिएको अडियो सार्वजनिक भएकाे थियो ।


