काठमाडौँ हिन्दुहरूको महान् पर्व बडादसैँ मनाउन काठमाडौँ उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप दिनहुँ बढ्दै गएको छ । घटस्थापनादेखि आजसम्म एक लाख नौ हजार ६३६ जनाले काठमाडौँ उपत्यका छाडेका छन् ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार घटस्थापनादेखि आजसम्म १७ हजार १३९ वटा सवारीसाधनमार्फत एक लाख नौ हजार ६३६ जना उपत्यकाबाट बाहिरिएका हुन् ।
दसैँ नजिकिँदै जाँदा अध्ययन, रोजगारी तथा विभिन्न पेसा–व्यवसायका सिलसिलामा काठमाडौँ उपत्यकामा बसोबास गर्दै आएका नागरिकहरू आफ्नो जन्मथलो फर्किन थालेपछि उपत्यकाका प्रमुख नाकामा यात्रुको चहलपहलसहित चाप बढेको हो ।
उपत्यका ट्राफिक प्रहरी प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सुरेशप्रसाद काफ्लेका अनुसार उपत्यका छाड्ने यात्रुमध्ये ४१ हजार ९४६ जना महिला र ६७ हजार ६९० जना पुरुष रहेका छन् । दसैँ मनाउन घर फर्किने क्रमसँगै लामो तथा छोटो दूरीका सार्वजनिक सवारीसाधनमा यात्रुको चाप बढ्दै गएको उहाँले बताउनुभयो ।
दसैँ मनाउन उपत्यका छाड्ने यात्रुको सङ्ख्या बढेसँगै काठमाडौँ उपत्यकाका प्रमुख नाकामा सवारीसाधनको आवागमन बाक्लिएको छ । विभिन्न जिल्लातर्फ जाने यात्रु सार्वजनिक बस तथा अन्य सवारीसाधनमार्फत गन्तव्यतर्फ प्रस्थान गरिरहेका छन् ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार नागढुङ्गा, फर्पिङ, थानकोट, भीमढुङ्गा, तीनपिप्ले, साँखु, भक्तपुर र भट्टेडाँडालगायतका नाकाबाट यात्रु बाहिरिने क्रम जारी छ । यी नाकामा दसैँका लागि घर फर्किने यात्रुको चाप बढ्दै गएपछि सवारीसाधनको आवागमन व्यवस्थापनमा ट्राफिक प्रहरीले विशेष ध्यान दिएको छ ।
दसैँमा परिवार तथा आफन्तसँग भेटघाट गरी पर्व मनाउन उपत्यकाबाट बाहिरिनेको सङ्ख्या अझै बढ्ने अनुमान गरिएको छ । चाडपर्वका बेला सार्वजनिक यातायातमा यात्रुको चाप बढ्ने भएकाले यात्रुलाई सुरक्षित र सहज यात्रा गराउने चुनौती पनि थपिएको छ ।
दसैँ, तिहारलगायत चाडपर्वका समयमा यात्रुको सुरक्षा सुनिश्चित गर्न र सवारी दुर्घटना न्यूनीकरण गर्न ट्राफिक प्रहरी चौबीसै घण्टा सडकमा खटिएको उपत्यका ट्राफिक प्रहरी प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक काफ्लेले बताउनुभयो ।
उहाँका अनुसार यात्रुको आवागमन सहज बनाउने, सवारीसाधनको चाप व्यवस्थापन गर्ने र सम्भावित दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले ट्राफिक प्रहरीले सडकमा निगरानी बढाएको छ ।


