विराटनगर। किराँत राई यायोक्खाको १२औँ राष्ट्रिय महाधिवेशन शुक्रबारदेखि विराटनगरमा सुरु भएको छ। महाधिवेशनको उद्घाटन सत्रअघि विराटनगरका विभिन्न स्थानबाट निकालिएको र्यालीमा देशभरबाट आएका किराँत राई समुदायका प्रतिनिधिहरू सहभागी भएका छन्।
महाधिवेशनमा सहभागी प्रतिनिधिहरूले आफ्नो समुदायका परम्परागत पोसाक, संस्थाका झण्डा तथा धार्मिक र सांस्कृतिक पहिचान झल्काउने सामग्रीसहित उत्साहपूर्वक सहभागिता जनाएका छन्। विभिन्न जिल्लाबाट आएका प्रतिनिधिहरूको उपस्थितिले महाधिवेशनलाई सांस्कृतिक विविधतासहितको राष्ट्रिय भेलाका रूपमा अघि बढाएको छ।
किराँत राई यायोक्खाका देशका ३३ जिल्लामा जिल्ला कमिटी रहेका छन्। त्यसैगरी, विभिन्न देशमा प्रवासी संगठन तथा प्रवास विभागसमेत गठन भएका छन्।
महाधिवेशनले संस्थाको नयाँ राष्ट्रिय नेतृत्व चयन गर्नेछ। महाधिवेशनलाई सफलतापूर्वक सम्पन्न गर्न सहभागी सम्पूर्ण प्रतिनिधि, स्वयंसेवक तथा सहयोगीहरूलाई सक्रिय भूमिका निर्वाह गर्न आयोजकले विशेष आह्वान गरेको छ।


