काठमाडौं । चर्चित भारतीय अभिनेता तथा निर्देशक नाना पाटेकरको निधन भएको छ। ७५ वर्षीय पाटेकरको बिहीबार बिहान गोवास्थित आफ्नै निवासमा कार्डियक अरेस्टपछि निधन भएको हो। उनलाई तत्काल अस्पताल पुर्याइए पनि चिकित्सकले बचाउन सकेनन्।
उनको निधन भएको उनका छोरा मल्हार पाटेकरले पुष्टि गरेका छन्। अस्पतालका अनुसार पाटेकरलाई करिब ४५ मिनेटसम्म बचाउने प्रयास गरिएको थियो। उनलाई बिहान करिब ५ः२० बजे मृत घोषणा गरिएको थियो।
सन् १९७८ मा ‘गमन’ चलचित्रबाट अभिनय यात्रा सुरु गरेका नाना पाटेकरले हिन्दी तथा मराठी चलचित्रमा फरक र प्रभावशाली पहिचान बनाएका थिए। ‘अंकुश’, ‘प्रतिघात’, ‘परिन्दा’, ‘प्रहार’, ‘तिरंगा’, ‘क्रान्तिवीर’, ‘अग्निसाक्षी’, ‘खामोशी’, ‘अब तक छप्पन’ र ‘नटसम्राट’ लगायतका चलचित्रमा उनले गरेको अभिनय चर्चित छ।
पाटेकर केवल अभिनेताका रूपमा मात्र नभई निर्देशक तथा समाजसेवीका रूपमा पनि परिचित थिए। उनले पर्दामा कहिले सैनिक, कहिले प्रहरी, कहिले सामान्य मानिस त कहिले जटिल चरित्रका रूपमा आफूलाई प्रस्तुत गर्दै दर्शकको मन जितेका थिए। उनको तीव्र संवाद प्रस्तुति र पात्रलाई जीवन्त बनाउने अभिनय शैली भारतीय सिनेमामा विशिष्ट मानिन्थ्यो।
नाना पाटेकरको निधनसँगै भारतीय सिने क्षेत्रमा एक प्रभावशाली कलाकार गुमेको छ। उनको निधनले भारतीय चलचित्र क्षेत्रमा अपूरणीय क्षति पुगेको छ।


