स्पेन सरकारले मङ्गलबार देशमा गहिरिँदो आवास सङ्कट समाधान गर्न नयाँ आपतकालीन उपाय स्वीकृत गरेको छ । यो निर्णय तटीय सहर बार्सिलोनामा सोमबार राति भएको हिंसात्मक घटनासहित देशभर हजारौँ मानिसले गरेको प्रदर्शनपछि आएको हो ।
सोमबार अबेर बार्सिलोनामा अशान्ति फैलिनुअघि सप्ताहन्तमा देशका विभिन्न सहरमा प्रदर्शन भएका थिए । राजधानी म्याड्रिडमा ८७ वर्षीया एक वृद्धालाई घरबाट निकालिएपछि आवास सङ्कटप्रति सरकारको ध्यानाकर्षण गराउन प्रदर्शनकारीले थप प्रभावकारी कदमको माग गरेका थिए ।
स्पेनको दोस्रो ठूलो सहर बार्सिलोनामा खराब मौसमको चेतावनीका कारण आयोजकले निर्धारित प्रदर्शन सोमबारका लागि सारेका थिए । सुरुमा विशाल र शान्तिपूर्ण रूपमा अघि बढेको जुलुसमा पछि हिंसा भड्किएको थियो । सयौँ कट्टरपन्थी प्रदर्शनकारीले प्रहरीसँग झडप गर्नुका साथै ढुङ्गा प्रहार गरेका र फोहोरका कन्टेनरमा आगजनी गरेका थिए ।
प्रधानमन्त्री पेड्रो सान्चेज नेतृत्वको सरकारले गत शुक्रबार संसदले अस्वीकार गरेका उपाय मङ्गलबार पुनःस्वीकृत गरेको हो । संसद्को अस्वीकृतिपछि सान्चेजले आगामी २९ नोभेम्बरमा मध्यावधि निर्वाचन घोषणा गरेका थिए । अब यी उपाय अनुमोदनका लागि अन्तरिम विधायिकामा पठाइनेछन्, जुन निर्वाचन सम्पन्न नभएसम्म सक्रिय रहनेछ ।
‘स्थायी आयोग’ भनिने उक्त सानो अन्तरिम विधायिकामा ६९ सदस्य छन्, जबकि नियमित संसद्मा ३५० सदस्य हुन्छन् ।
म्याड्रिडस्थित कम्प्ल्युटेन्स विश्वविद्यालयका राजनीतिशास्त्रका प्राध्यापक अलेजान्ड्रो क्विरोगाका अनुसार अन्तरिम विधायिकामार्फत आदेश अनुमोदन गराउने कदम संवैधानिक हुनुका साथै सान्चेजका लागि राजनीतिक रूपमा आवश्यक पनि थियो ।
“मलाई लाग्दैन कि सान्चेजसँग अर्को कुनै विकल्प थियो,” क्विरोगाले एसोसिएटेड प्रेस (एपी) लाई भन्नुभयो, “यदि तपाईं आवासको मुद्दालाई मध्यावधि निर्वाचनसम्म जनताको ध्यानको केन्द्रमा राख्न चाहनुहुन्छ भने, चुप लागेर बस्न र यस विषयमा केही नगर्न सक्नुहुन्न । त्यो बुद्धिमानीपूर्ण कदम हुने थिएन ।”


