काठमाडौं । गृह मन्त्रालयले सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई निलम्बन गरेको छ।
सुरक्षासँग सम्बन्धित संवेदनशील सूचना चुहावट गरी पदीय आचरणविपरीत कार्य गरेको आरोपमा सशस्त्र प्रहरी बल, नेपालले कारबाहीका लागि मन्त्रालयमा सिफारिस गरेपछि गृह मन्त्रालयले सोमबार दाहाललाई निलम्बन गरेको हो।
गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेका अनुसार आरोपमाथि छानबिन गर्न जाँचबुझ अधिकृत तोकिएको छ। जाँचबुझ अधिकृतलाई तीन दिनभित्र छानबिन सम्पन्न गरी मन्त्रालयमा प्रतिवेदन पेस गर्न निर्देशन दिइएको छ।
मन्त्रालयले सशस्त्र प्रहरी तथा निजामती कर्मचारीले आफ्नो पदअनुसारको आचरण पालना गर्नुपर्ने र सुरक्षासँग सम्बन्धित संवेदनशील तथा गोप्य सूचनाको संरक्षण गर्नुपर्ने कानुनी दायित्व रहेको जनाएको छ।
मन्त्रालयका अनुसार मातहतका कर्मचारीबाट हुने पदीय आचरणविपरीतका गतिविधि, गोप्य सूचना चुहावट तथा शान्ति सुरक्षामा प्रतिकूल असर पार्ने गतिविधिमाथि निगरानी र विश्लेषण भइरहेको छ। कानुनविपरीतका गतिविधिमा संलग्न जोसुकैलाई प्रचलित कानुनअनुसार कारबाही गरिने मन्त्रालयले जनाएको छ।
यसैबीच, दाहालमाथि पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई अनुमति नलिई भेटेको आरोपसमेत लागेको विवरण सार्वजनिक भएका छन्। तर, गृह मन्त्रालयले हालसम्म कथित रूपमा चुहावट भएको सूचना भने सार्वजनिक गरेको छैन।


