काभ्रेका ३०८ बालबालिकालाई स्वर्णबिन्दु

अ+
अ
अ-

बनेपा । जिल्ला आयुर्वेद तथा वैकल्पिक चिकित्सालयले बालबालिकालाई स्वर्णबिन्दु (स्वर्णप्राशन) खुवाउने कार्यक्रम सञ्चालन गरिरहेको छ ।

गत भदौदेखि सुरु गरिएको कार्यक्रमअन्तर्गत हरेक महिनाको पुख्य नक्षत्रका दिन बालबालिकालाई स्वर्णबिन्दु खुवाइँदै आएको छ । यस पटक अनलाइनमार्फत ३४४ जना बालबालिका दर्ता भएकामा ३०८ जनालाई स्वर्णबिन्दु खुवाइएको चिकित्सालयले जनाएको छ ।

स्वर्णबिन्दु खुवाइएका बालबालिकामध्ये १२७ जना बालिका र १८१ जना बालक छन् । बालबालिकाको रोग प्रतिरोधात्मक क्षमता बढाउनुका साथै स्मरणशक्ति अभिवृद्धि र समग्र शारीरिक, मानसिक, बौद्धिक एवं साहसिक विकासमा सहयोग पुर्याउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको चिकित्सालयले जनाएको छ ।

आयुर्वेद शास्त्रअनुसार प्राचीन कालदेखि नै पुख्य नक्षत्रको शुभ अवसरमा सुन र विभिन्न उपयोगी जडीबुटीको मिश्रणबाट तयार पारिएको स्वर्णबिन्दु सही मात्रामा खुवाउँदा बालबालिकाको स्वास्थ्यमा सकारात्मक प्रभाव पर्ने चिकित्सालयका प्रमुख डा अर्जुन उपाध्यायले बताउनुभयो ।

उहाँका अनुसार हाल देशका ६० भन्दा बढी जिल्लामा स्वर्णप्रासन कार्यक्रम सञ्चालन हुँदै आएको छ । तोकिएको समयमा उपस्थित भई आफ्ना बालबालिकालाई स्वर्णबिन्दु खुवाएर कार्यक्रम सफल बनाउन सहयोग पुर्याउने सम्पूर्ण अभिभावकप्रति चिकित्सालयले आभार व्यक्त गरेको छ ।