‘भूगोलका सपनाहरू’ निबन्धसङ्ग्रह लोकार्पण

अ+
अ
अ-

काठमाडौं । युद्धप्रसाद मिश्र स्मृति प्रतिष्ठानको आयोजनामा स्रष्टा नम्रता गुरागाईँको निबन्धसङ्ग्रह ‘भूगोलका सपनाहरू’ लोकार्पण तथा परिचर्चा सम्पन्न भएको छ।

पद्मकन्या बहुमुखी क्याम्पसको डेनिस हलमा शनिबार आयोजित कार्यक्रममा प्रमुख अतिथि भाषाविद् तथा निबन्धकार प्रा.डा. माधवप्रसाद पोखरेल, प्रतिष्ठानका अध्यक्ष प्रा.डा. लेखप्रसाद निरौलालगायत साहित्य क्षेत्रका विभिन्न व्यक्तित्वले संयुक्त रूपमा कृति लोकार्पण गरेका हुन्।

कार्यक्रममा समालोचक डा. गीता त्रिपाठी र डा. फणीन्द्रराज निरौलाले कृतिमाथि परिचर्चा गरेका थिए। डा. त्रिपाठीले निबन्धहरूमा कोमल अनुभूति, प्रतिरोधी चेतना, सरल भाषामा विचार अभिव्यक्ति तथा नारी जीवनका विविध भोगाइ प्रस्तुत भएको बताइन्। निबन्धहरू आत्मपरक, आख्यानात्मक र संस्मरणात्मक स्वरूपमा रहेको उनको भनाइ थियो।

डा. निरौलाले सात समुद्रपारिको जीवनबाट समय निकालेर गुरागाईँले नेपाली भाषा–साहित्यमा योगदान दिएको उल्लेख गर्दै २६ वटा निबन्ध रहेको १९७ पृष्ठको कृति जीवनभोगाइ, स्मृति, स्वदेशप्रतिको माया र प्रवासका अनुभवको संयोजन भएको बताए। निबन्धमा नेपाल र अमेरिकाको सामाजिक तथा सांस्कृतिक परिवेशको तुलना, पारिवारिक सम्बन्ध, आमाको स्मृति, प्रवासका पीडा, स्वास्थ्य, प्रविधि, पशुप्रेम र सन्तानसँग जोडिएका संवेदनालगायत विषय समेटिएको उनले बताए।

प्रमुख अतिथि प्रा.डा. पोखरेलले विदेशमा रहे पनि नेपाली अस्मिता र मातृभाषासँगको सम्बन्ध नछुटेको प्रमाणका रूपमा कृतिलाई लिन सकिने बताए। उनले नेपाली भाषामा प्रकाशित पुस्तकहरूलाई डिजिटलाइज गर्नुपर्नेमा समेत जोड दिए।
कार्यक्रममा पूर्वमन्त्री शान्ता मानवी, प्रा.डा. जीवेन्द्र देव गिरी, डा. फणीन्द्रराज निरौला, अनिल पौडेल, प्रा.डा. यादवप्रकाश लामिछाने, रामप्रसाद पन्त, केशव बडाललगायतले गुरागाईँको कृतिका लागि बधाइ तथा शुभकामना व्यक्त गरेका थिए।

कृतिका स्रष्टा नम्रता गुरागाईँले प्रवासबाट नेपाल फर्किँदा परिवार भेटेर ऊर्जा लिएर फर्किने अनुभूति भएजस्तै आफ्ना निबन्धमार्फत पाठकको मनसम्म पुग्ने प्रयास गरेको बताइन्। उनले कृति पढेर रचनात्मक प्रतिक्रिया दिन पाठकलाई आग्रह गरिन्।

प्रतिष्ठानका उपाध्यक्ष नन्दु उप्रेतीले स्वागत गर्दै कृति लोकार्पणसँगै नेपालीका दसैँ, तिहार, छठ, इदुलफित्रलगायत चाडपर्वका अवसरमा संस्थागत रूपमा शुभकामना आदान–प्रदान गर्ने संस्कृतिको सुरुवात गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जानकारी दिए।

कार्यक्रममा कविवर युद्धप्रसाद मिश्रको तस्बिरमा माल्यार्पण तथा पुष्पार्पण गरिएको थियो भने उहाँको कविता नातिले प्रस्तुत गरेका थिए। सभाध्यक्ष प्रा.डा. लेखप्रसाद निरौलाले गुरागाईँको कवित्वको प्रभाव निबन्धमा पनि देखिएको उल्लेख गर्दै विचार, स्मृति, अनुभूति र जीवनभोगाइको विविधताले कृतिलाई पठनीय बनाएको बताए।