काठमाडौ । गायक खेम सेन्चुरीको ‘बाहुन बाजे किन कसेको’ गीतमा प्रयोग भएका विवादित शब्द र दृश्य संशोधन गर्ने सहमति भएको छ।
गीतलाई पूर्ण रूपमा युट्युबबाट हटाउनु नपर्ने, तर गीतमा प्रयोग भएको केही शब्द हटाउने तथा विवादित दृश्य ब्लर गर्ने गरी सम्बन्धित पक्षबीच सहमति भएको हो।
गीतमा ‘खाउ न त खाउ, सुँगुरको मासु खाउ’ भन्ने शब्द प्रयोग गरिएको तथा ब्राह्मणले पूजा गर्ने क्रममा सुँगुरको मासु खान आग्रह गरिएको दृश्य देखाइएको थियो। उक्त शब्द र दृश्यलाई लिएर विवाद उत्पन्न भएको थियो।
हिन्दु जागरण नेपालका अध्यक्ष रामकृष्ण उपाध्यायले गीतले ब्राह्मण समुदायलाई होच्याउने काम गरेको दाबी गर्नुभएको छ। उहाँका अनुसार उक्त गीतविरुद्ध हिन्दु जागरण नेपाललगायत विभिन्न हिन्दुवादी संस्थाले साइबर ब्युरोमा उजुरीसमेत दिएका थिए।
उजुरीपछि भएको छलफलमा विवादित शब्द हटाउने र सम्बन्धित दृश्यलाई ब्लर गर्ने गरी सहमति भएको बताइएको छ।


