नागार्जुनमा ज्ञानुवाकरकाे गजल,अहिलेका साहित्यकारमा एकताको आवश्यकता औँल्याइयो

अ+
अ
अ-

काठमाडौ । नागार्जुन वाङमय प्रतिष्ठानकाे काठमाडौंमा आयोजित साहित्यिक कार्यक्रममा गजलकार ज्ञानुवाकर पौडेलले नेपाली साहित्यको विकासका लागि साहित्यकारबीच सामूहिकता र एकताको भावना आवश्यक रहेको बताउनुभएको छ।

संस्थाका अध्यक्ष दिल पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि पौडेलले पछिल्लो समय लेखक तथा साहित्यकारहरूबीच सामूहिकता र एकताको भावना कमजोर हुँदै गएको भन्दै दुःख व्यक्त गर्नुभयो। उहाँले नेपाली साहित्यमा ठूलो संख्यामा सर्जक सक्रिय रहे पनि उनीहरूको उचित मूल्यांकन र सम्मान हुन नसकेको गुनासो गर्नुभयो।

नेपाली साहित्यका हरेक विधामा नयाँ पुस्ताका सर्जकहरू अगाडि आइरहेको उल्लेख गर्दै पौडेलले नेपाली साहित्यको भविष्य सुनौलो रहेको बताउनुभयो।

कार्यक्रममा डा. बालकृष्ण अधिकारीले उपन्यासकार चन्द्रबहादुर तामाङको उपन्यास ‘औँसीको जून’ माथि चर्चा गर्नुभएको थियो। ‘स्रष्टा विशेष’ अन्तर्गत कवि रीता खत्रीले आफ्ना सातवटा कविता वाचन गर्नुभयो।

यस्तै, कवि पूर्णविरामको कविता वाचन प्रतियोगितामा रेणुका भट्टराई प्रथम हुनुभएको थियो। उहाँका भाव र शैली शिल्प प्रयाेग गर्दै पूर्णविरामका कविता तथा सिर्जनालाई प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा स्रष्टा विशेष, कृति समीक्षक, लेखक तथा प्रमुख अतिथिलाई सम्मानसहित खादा प्रदान गरिएको थियो। कार्यक्रममा बाल साहित्यकार, युवा तथा ज्येष्ठ साहित्यकार गरि दुई दर्जन साहित्यकारहरूले आ–आफ्ना रचना प्रस्तुत गरेकाे आयाेजक संस्थाले बताएको छ।