सानो हात थियो थिएन दरिलो खुट्टा थियो कम्सल ।
बोली मन्द भयो बिहान मधुरो रुन्चे भएँ हर्पल।
आमा बाबु ढले जहान अधुरो एक्लो भएँ मै पनि ।
सारा दीप निभे परान टुहुरो बाँचेँ भएरै मनि ।
(१)
ज्यादा चोट दियो सवार कुहिरो ढाक्यो सबेरै तहाँ ।
सारा खिन्न परे भएर घुइँचो बाक्लो अबेरै जहाँ ।
धोती बाँध्न सिकी कछाड जिउको धागो थमाई हिँडे ।
बुर्की फाल नदी जँघार तिरको मुर्दा चितामा छिरे ।
(२)
रित्तो खाट छ त्यो दलान घरको आशा गयो त्यसरी ।
चिन्ता शोक थपी तमाम भरको मुर्छा परे बेस्सरी।
माया ईश्वर हो भनेर मनको
ठान्यो मनैले पनि ।
ईर्ष्या द्वेष जली सखाप जनको खोज्यो सबैले गनि ।
(३)
निन्द्रा भोक सही अफाप सपना देख्यो कठै रातमा ।
छाम्यो हात गला रहेछ विपना आँखा बरै साथमा ।
आयो घाम घुमी चलाख चतुरो तातो बयालो बोकी ।
आमा छैन भने मुहार अपुरो बाटो उकालो भोकी।
(४)
चल्यो मेघ हुरी बतास वरको
हाँगा लछार्यो अति ।
खाली छानु भयो निदाल घरको सारा बनायो खति।
बित्यो रात सबै असार महिना पानी परेको दिन ।
आत्मा प्राण लियो धिकार ममता आमा मरेको छिन ।
(५)


