सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल

अ+
अ
अ-

बाँके । कैलालीको लम्कीचुहा नगरपालिका–१ गुरुवागाउँ निवासी ७२ वर्षीय जयबहादुर थापालाई गत भदौ २४ गते राति विस्तारामा सुतिरहेकै बेला सर्पले डस्यो । थापालाई सर्पले डसेको थाहा पाउनेबित्तिकै रातारात नेपालगन्जस्थित भेरी अस्पतालमा भर्ना गरियो ।

झुल लगाएर सुत्नुभएका थापालाई झुल बाहिरबाटै सर्पले टाउकोमा डसेको थियो । समयमै अस्पताल पुर्याएपछि उहाँको उपचारमा सहज भयो । एन्टी स्नेक भेनम चढाएपछि अहिले उहाँको स्वास्थ्य अवस्थामा सुधार आएको छोरा राजबहादुर थापाले बताउनुभयो ।

“गाउँमै धामीझाँक्री वा स्थानीय स्वास्थ्यचौकीमा अलमल गरेको भए ठूलो दुर्घटना हुनसक्थ्यो”, राजबहादुरले भन्नुभयो, “स्वास्थ्यचौकीमा लगे पनि नेपालगन्ज रेफर गर्छन् भन्ने थाहा भएकाले हामी सिधैँ भेरी अस्पताल आयौँ । सही समयमा अस्पताल ल्याएकाले बुबाले नयाँ जीवन पाउनुभयो ।”

जयबहादुर थापाको यो घटना एउटा प्रतिनिधि उदाहरणमात्र हो । गर्मी र वर्षाको मौसममा तराई तथा पहाडी भेगमा सर्पदंशका घटना अत्यधिक बढ्ने गरेका छन् । पछिल्लो समय भेरी अस्पतालमा सुविधासम्पन्न पूर्वाधार, अनुभवी चिकित्सक र चुस्त व्यवस्थापनका कारण सर्पदंशका बिरामीका लागि ‘मृत्युको मुखबाट फर्काउने’ आशाको किरण छरिरहेको छ ।

अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा नवीन दर्नालका अनुसार अन्तिम अवस्थामा पुगेर पनि भेरी अस्पताल आइपुगेका दर्जनौँ बिरामी नयाँ जीवन पाएर घर फर्किएका छन् । आर्थिक वर्ष २०८२/८३ मा भेरी अस्पतालमा विभिन्न जिल्लाबाट आएका ९१ जना सर्पदंशका बिरामीमध्ये ८५ जना निको भएर घर फर्किएका थिए भने छ जनाको मात्र मृत्यु भएको थियो ।

चालु आवको दुई महिनामा अस्पतालमा भर्ना भएका ४९ जना बिरामीमध्ये ४६ जना सफल उपचारपछि निको भएका छन् भने तीन जनाको मात्र मृत्यु भएको छ । तथ्याङ्कअनुसार अस्पताल आइपुग्ने ९२ प्रतिशतभन्दा बढी बिरामीको ज्यान जोगाउन भेरी अस्पतालका चिकित्सक सफल भएका छन् ।

गर्मीयाममा सर्पदंशका बिरामीको सङ्ख्या ह्वात्तै बढे पनि अस्पतालका तालिमप्राप्त र कुशल चिकित्सकको टोलीका कारण धेरैको ज्यान जोगाउन सम्भव भएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा दर्नालले बताउनुभयो ।