अ+
अ
अ-
नेपाल राष्ट्र बैंकले ५० रुपैयाँको नयाँ विशेषतासहितको नोट सार्वजनिक गरेको छ। असोज २ गतेदेखि चलनचल्तीमा ल्याइएको उक्त नोटमा ‘नेपाल राष्ट्र बैंक, नेपाल सरकारको जमानतप्राप्त यसको रुपियाँ भुक्तानी माग भएमा नेपाल राष्ट्र बैंकबाट रु. ५० तुरुन्त पाइनेछ’ भन्ने प्रतिज्ञामूलक वाक्यांश राखिएको छ।
नोटको बायाँतर्फ सगरमाथा हिमालको चित्र र दायाँतर्फ लालीगुराँसको पानीछाप राखिएको छ। नेपाल राष्ट्र बैंकका गभर्नर राधाकृष्ण पौडेलको हस्ताक्षर रहेको उक्त नोटमा १ दशमलव २ मिलिमिटर चौडा कागजमा बुनेको सुरक्षा धागो राखिएको छ।
नोटलाई प्रकाशतर्फ पारेर हेर्दा सुरक्षा धागो पूर्ण रूपमा देखिन्छ र उक्त धागोमा ‘NRB’ लेखिएको छ। नोटको पछाडिको भागमा भने हिउँ चितुवाको चित्र राखिएको छ।


