काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद बदन कुमार भण्डारीले खाद्य वस्तुको अप्रत्याशित मूल्यवृद्धिप्रति सरकारको ध्यानाकर्षण गराएका छन्।
मंगलबार प्रतिनिधिसभाको बैठकमा सभामुखमार्फत सरकारलाई प्रश्न गर्दै भण्डारीले दाल, चामल, गेडागुडी र चिनी लगायतका दैनिक उपभोग्य वस्तुको मूल्य निरन्तर बढिरहेको भन्दै यसको कारण र नियन्त्रणका उपायबारे जानकारी मागे।
उनका अनुसार चिनीको मूल्य प्रतिकिलो १४० रुपैयाँसम्म पुगेको छ भने रातो–कालो दाल १६० देखि २०० रुपैयाँ र चामल २४०० बाट २६०० रुपैयाँसम्म पुगेको छ।
‘यो अप्रत्याशित मूल्यवृद्धि केका लागि हो? यसको नियन्त्रण कसरी गर्न सकिन्छ?’ भण्डारीले सरकारसँग प्रश्न गरे।
यसअघि तत्कालीन उद्योगमन्त्री गौरीकुमारी यादवसँग ग्यास आपूर्तिको विषयमा कडा प्रश्न गरेपछि पनि सांसद भण्डारी चर्चामा आएका थिए। हाल उनलाई उपभोक्त उपसमितिकाे उपसमितिको सभापतिको जिम्मेवारी दिइएको छ।


