किशाेरी असुरक्षित गर्भधारण गर्न बाध्य, २० नपुग्दै आमा

+
-

म्याग्दी । बालविवाहका कारण शारीरिक तथा मानसिक रूपमा परिपक्व नहुँदै गर्भवती हुने र आमा बन्ने अवस्था देखिएको छ । जिल्लामा गत आर्थिक वर्ष सुत्केरी भएकामध्ये झन्डै पाँच जनामा एक जना २० वर्षमुनिका छन् भने एक किशोरीले १४ वर्षमै आमा बन्नुपरेको छ ।

प्रदेश जनस्वास्थ्य कार्यालयको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८२/८३ मा सुत्केरी भएकामध्ये करिब २० प्रतिशत २० वर्षमुनिका छन् । कुल ५८५ जना सुत्केरी भएकामा ११६ जना अथवा १९.८२ प्रतिशत २० वर्षमुनिका रहेका कार्यालयका सूचना अधिकारी गणेश सुवेदीले बताउनुभयो ।

“छ जना घरमै सुत्केरी भएका हुन्”, उहाँले भन्नुभयो, “गत वर्ष सुरक्षित गर्भपतन सेवा लिएका ७९० जनामध्ये ५.७५ प्रतिशत अथवा ४३ जना २० वर्षमुनिका छन् ।” आव २०८१/८२ मा सुत्केरी भएका र सुरक्षित गर्भपतन सेवा लिएका एक हजार ३८४ जनामध्ये १३.७२ प्रतिशत अथवा १९० जना २० वर्षमुनिका थिए । २०८०/८१ मा २० वर्षमुनिका १६१ जना सुत्केरी हुँदा सुरक्षित गर्भपतन सेवा लिने सो उमेर समूहका किशोरी तथा युवतीको सङ्ख्या २९ जना थियो ।

विसं २०७८ को जनगणनाअनुसार जिल्लामा प्रजननयोग्य उमेर समूहका महिलाको सङ्ख्या २१ हजार १८३ जना छ । जिल्लाका ४७ प्रतिशत दम्पतीले मात्र परिवार योजनाका साधनको प्रयोग गर्ने जनस्वास्थ्य कार्यालयको तथ्याङ्क छ ।
म्याग्दी बहुमुखी क्याम्पसका उपप्रध्यापक रेखाकौशल रेग्मीले समाजमा शैली फेरिएर बालविवाह कायमै रहेको जनस्वास्थ्य कार्यालयको तथ्याङ्कले पुष्टि गरेको बताउनुभयो । बालविवाह, असुरक्षित र अनुच्छिुक गर्भधारणको प्रमुख कारण मेलाजात्रा भएको उहाँको भनाइ छ ।

“सामाजिक सञ्जाल”, उहाँले भन्नुभयो, “गरिबी, अभिभावकको निगरानी नहुने, असल अभिभावकत्व र संरक्षण नपाउने, भावनात्मक परिवन्धमा परेर किशोरीहरु बालविवाह गर्न र अनिच्छुक गर्भधारण गर्न बाध्य भएका देखिन्छ ।”