काठमाडौं । प्रतिनिधि सभा सदस्य बदनकुमार भण्डारीले बजारमा खाना पकाउने ग्यासलगायत अत्यावश्यक वस्तुको मूल्यवृद्धि र कालोबजारी नियन्त्रणमा सरकार गम्भीर बन्नुपर्ने बताएका छन्।
खाद्य सुरक्षा तथा उपभोक्ता हितसम्बन्धी संसदीय समितिको बैठकमा बोल्दै सांसद भण्डारीले बजारमा ग्यासको मूल्य मनपरी ढंगले बढिरहेको भन्दै तत्काल प्रभावकारी अनुगमन र कारबाही गर्न सरकारसँग माग गरे। साथै मन्त्रीले काम गर्न नसके राजीनामा दिएर अरु सक्षम व्यक्तिलाई काम गर्ने बाटाे खाेलिदिन अनुरोध गरेका छन् ।
उनले चिनीको मूल्यसमेत बजारमा प्रतिकिलो १५० देखि १६० रुपैयाँसम्म पुगेको उल्लेख गर्दै बजारमा मूल्यवृद्धि नियन्त्रण गर्नुपर्ने बताए। उपभोक्ताले किन महँगोमा सामान किन्नुपरेको हो भन्ने विषयमा सरकारले स्पष्ट जवाफ दिनुपर्ने उनको भनाइ थियो।
सांसद भण्डारीले अत्यावश्यक वस्तुको आपत्कालीन मौज्दात राख्नुपर्नेमा जोड दिए। विशेषगरी खाना पकाउने ग्यासको कम्तीमा एक महिनालाई पुग्ने मौज्दात राख्न सके आकस्मिक अवस्थामा उत्पन्न हुने समस्या धेरै हदसम्म समाधान गर्न सकिने उनले बताए।
‘उद्योगीले समस्या भयो भनेर मात्र हुँदैन, सम्बन्धित निकायले पनि आफ्नो जिम्मेवारी पूरा गर्नुपर्छ,’ उनले भने, ‘समस्या समाधानका लागि वैकल्पिक व्यवस्था र पर्याप्त मौज्दातको व्यवस्था गर्नुपर्छ।’
उनले बजार अनुगमन प्रभावकारी हुन नसकेको भन्दै सरकारको अनुगमन प्रणालीप्रति समेत प्रश्न उठाए। अनुगमनका नाममा बजारमा जाने, स्टिकर टाँस्ने र फर्किने मात्र नभई कहाँ कति स्टक छ, कुन मूल्यमा बिक्री भइरहेको छ र कालोबजारी भइरहेको छ कि छैन भन्ने विषयमा वास्तविक अनुगमन हुनुपर्ने उनले बताए।
स्थानीय तहलाई समेत बजार अनुगमनमा सक्रिय बनाउनुपर्ने भण्डारीको भनाइ छ। कालोबजारी भएको अवस्थामा स्थानीय सरकार, प्रमुख जिल्ला अधिकारी र सम्बन्धित मन्त्रालयले आ–आफ्नो अधिकार प्रयोग गर्दै तत्काल कारबाही गर्नुपर्ने उनले बताए।
‘सरकारले अधिकार दिएको छ भने स्थानीय सरकारले पनि बजार अनुगमन गर्नुपर्छ। सीडीओले कार्यान्वयन गर्नुपर्छ, मन्त्रालयले पनि अनुगमन गर्नुपर्छ,’ उनले भने।
ग्यास व्यवसायीले समस्या देखाएर उपभोक्ताबाट मनपरी मूल्य असुल्न नपाउने भन्दै उनले सरकारले तत्काल अनुगमन टोली परिचालन गर्नुपर्ने बताए।
‘सरकार केही गर्दैन भन्ने अवस्था भयो भने व्यापारीले मनपरी मूल्यमा बेच्ने अवस्था आउँछ,’ उनले भने, ‘अनुगमनमा निस्कनुस्, स्टक लुकाएर कालोबजारी गरिएको छ भने कारबाही गर्नुस्।’
उनले वर्तमान सरकार आफ्नै पार्टीको भएकै कारण गलत कामको समर्थन गरेर बस्ने पक्षमा आफूहरू नरहेको स्पष्ट पारे। उपभोक्ताको समस्या समाधान गर्न सरकार र सम्बन्धित निकायले छिटोभन्दा छिटो प्रभावकारी कदम चाल्नुपर्नेमा उनले जोड दिए।
सांसद भण्डारीले मन्त्री, मन्त्रालय, विभाग, स्थानीय सरकार र प्रशासनबीच प्रभावकारी समन्वय गरेर बजारमा देखिएको मूल्यवृद्धि, कृत्रिम अभाव र कालोबजारी नियन्त्रण गर्नुपर्ने बताए।


