काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले जेन्जी आन्दोलन सरकार परिवर्तनका लागि मात्रै नभई राजनीतिक संस्कार र सरकारको शैली परिवर्तन तथा सुशासन स्थापनाका लागि भएको बताएका छन्।
संघीय संसद्मा बोल्दै केसीले जेन्जी आन्दोलनका क्रममा शहादत प्राप्त गरेका युवाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनीहरूले परिकल्पना गरेको समाज र राज्य निर्माण गर्न अझै नसकिएको बताए।
‘यो सरकार परिवर्तनका लागि मात्र होइन, संस्कार परिवर्तनको निम्ति थियो। सरकारको शैली परिवर्तन, सुशासन तथा विधिविहीनता र दण्डहीनताको अन्त्यका लागि थियो,’ उनले भने।
केसीले ठूलो जनविश्वास र आशा बोकेको वर्तमान सरकार सफल र स्थिर हुनुपर्नेमा जोड दिए। उनले अहिले मुलुकमा मल र ग्यासलगायत अत्यावश्यक वस्तुको अभाव देखिएको भन्दै प्राकृतिक विपत्तिका बेला सबै एकजुट भएर तत्कालीन समस्या समाधान गर्नुपर्ने बताए।
बाढी तथा पहिरो प्रभावित क्षेत्रमा उद्धार कार्यलाई थप प्रभावकारी बनाउनुपर्ने उनको भनाइ छ। विशेषगरी सुत्केरी, बालबालिका, अशक्त तथा बिरामीको अवस्थालाई ध्यान दिँदै स्वास्थ्य टोली तत्काल परिचालन गर्न उनले सरकारसँग आग्रह गरे।
केसीले काठमाडौं–नुवाकोट–रसुवा सडक सम्पर्कलाई तत्काल प्रभावकारी बनाउनुपर्ने आवश्यकता औँल्याउँदै गल्छीदेखि देवीघाटसम्म कम्तीमा तीनवटा बेलिब्रिज निर्माण गर्नुपर्ने बताए। सडक तथा पुलको कनेक्सन पुनःस्थापित नभएसम्म प्रभावित क्षेत्रमा राहत पुर्याउनसमेत कठिन हुने उनको भनाइ छ।
उनले रसुवा, नुवाकोट, धादिङ र गोरखालगायत क्षेत्रमा आएको बाढीलाई जलवायु परिवर्तनको गम्भीर प्रभावका रूपमा व्याख्या गरे। माथिल्लो तटीय क्षेत्रमा उत्पन्न समस्याको असर तल्लो तटीय क्षेत्रमा समेत पर्ने भएकाले सूचना आदानप्रदान र पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाउनुपर्नेमा उनले जोड दिए।
केसीले जलवायुजन्य विपद्को जोखिम न्यूनीकरणका लागि नेपाल, भारत र चीनबीच समेत प्रभावकारी समन्वय आवश्यक रहेको बताए।


