काठमाडौं । काभ्रेपलाञ्चोकका सांसद बदन कुमार भण्डारीले बाढीपहिरो तथा विपद्का कारण विस्थापित भएका नागरिकको सुरक्षा र व्यवस्थापनलाई सरकारले पहिलो प्राथमिकतामा राख्नुपर्ने बताएका छन्।
बिहीबार संसदमा बोल्दै सांसद भण्डारीले विपद्का कारण प्रभावित तथा घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै बेपत्ता नागरिकको खोजीमा राज्यको सम्पूर्ण शक्ति परिचालन गर्न सरकारसँग माग गरे।
उनले काभ्रेपलाञ्चोकमा दुई जनाको मृत्यु भएको र ४१ जनाभन्दा बढी अझै बेपत्ता रहेको उल्लेख गर्दै बेपत्ताको खोजी कार्यलाई तीव्र बनाउन आग्रह गरे। पहिचान हुन नसकेका शवको पहिचान गरी परिवारलाई बुझाउने व्यवस्था तत्काल गर्नुपर्ने उनको भनाइ थियो।
‘हराइरहेकाहरूको खोजीमा राज्यको सम्पूर्ण शक्ति लगाउनुपर्छ। पहिचान नभएका शवको पहिचान गरी मृतकका आफन्तलाई बुझाउनुपर्छ,’ उनले भने।
सांसद भण्डारीले विपद्बाट विस्थापित नागरिकको सुरक्षा, अस्थायी बसोबास तथा आवश्यक राहतलाई प्राथमिकतामा राख्नुपर्ने बताए। सरकार आलोचनाबाट सिक्दै अझ बलियो भएर नागरिकको सुरक्षामा केन्द्रित हुनुपर्ने उनको भनाइ थियो।
उनले भविष्यमा यस्ता विपद्का घटना हुँदा क्षति न्यूनीकरण गर्न आवश्यक पूर्वतयारी र सबैखाले व्यवस्थापनमा सरकार गम्भीर हुनुपर्ने बताए।
‘विपद्को बेला कुरा कम, काम बढी गर्ने बेला हो,’ भण्डारीले भने, ‘सरकारको लय ठीक छ। जनताले सरकारलाई साथ दिएका छन्।’
विपद् प्रभावित नागरिकका लागि देश तथा विदेशबाट सहयोग जुटिरहेको उल्लेख गर्दै उनले प्राप्त सहयोगलाई प्रभावकारी रूपमा परिचालन गर्नुपर्ने बताए। सरकार नागरिकको साथमा रहेको अनुभूति हुने गरी राहत, उद्धार र पुनःस्थापनाको कामलाई अघि बढाउनुपर्नेमा उनले जोड दिए।
सांसद भण्डारीले विपद् व्यवस्थापनका क्रममा सरकारले कुनै कमी हुन नदिने विश्वाससमेत व्यक्त गरे।


