धरान ।श्रम संस्कृति पार्टीको जारी केन्द्रीय कमिटी बैठकमा पार्टीलाई व्यवस्थित, अनुशासित र संस्थागत बनाउने विषयमा विभिन्न प्रस्तावहरू प्रस्तुत भएका छन्। पार्टीका वरिष्ठ नेता सुदन किराँतीले बैठकमा पार्टी सञ्चालनसँग सम्बन्धित केही फरक तथा महत्वपूर्ण प्रस्ताव पेस गरेका छन्।
धरानमा जारी केन्द्रीय कमिटी बैठकमा नेता किराँतीले पार्टीका महत्वपूर्ण निर्णयहरू पदाधिकारी तथा सम्बन्धित कमिटीमा पर्याप्त छलफल गरी विधिवत् निर्णय गर्ने र त्यस्ता निर्णयको अभिलेखीकरण गर्ने पद्धतिको विकास गर्नुपर्ने प्रस्ताव गरेका छन्।
पार्टीका काम-कारबाहीलाई प्रभावकारी, पारदर्शी र अनुशासित बनाउन आचारसंहिता लागू गर्नुपर्ने र आन्तरिक विवादलाई विधिसम्मत रूपमा समाधान गर्न अनुशासन आयोग गठन गर्नुपर्ने उनको प्रस्तावमा उल्लेख छ।
त्यसैगरी किराँतीले पार्टीभित्रको आन्तरिक लोकतन्त्र र संवादलाई बलियो बनाउन नियमित सामूहिक संवादको व्यवस्था गर्नुपर्ने बताएका छन्। सदस्य तथा नेताहरूबाट आउने सुझाव, असहमति र मतभेदलाई प्रभावकारी संयन्त्रमार्फत समाधान गर्ने व्यवस्था आवश्यक रहेको उनको धारणा छ।
आर्थिक पारदर्शितालाई प्राथमिकता दिँदै नियमित लेखापरीक्षणको व्यवस्था गर्नुपर्ने किराँतीले प्रस्ताव गरेका छन्। पार्टीको राजनीतिक, वैचारिक तथा संगठनात्मक क्षमता विकासका लागि नियमित रूपमा तालिम तथा प्रशिक्षण सञ्चालन गर्नुपर्ने उनको प्रस्तावमा उल्लेख छ।
किराँतीले पार्टीलाई संस्थागत रूपमा बलियो बनाउन निर्णय प्रक्रिया, अभिलेखीकरण, अनुशासन, आन्तरिक लोकतन्त्र, आर्थिक पारदर्शिता र राजनीतिक-वैचारिक प्रशिक्षणलाई व्यवस्थित गर्नुपर्नेमा किराँतीले जोड दिएका छन्।


