भोटेकोशी बाढीमा सरकार उद्धारमा असफल भयो : प्रचण्ड

अ+
अ
अ-

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं विपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भोटेकोशी बाढीपछि सरकारले सेना परिचालन गरे पनि प्रभावकारी जनपरिचालन र समन्वय गर्न नसकेको आरोप लगाएका छन्।

बुधबार बसेको संसदीय बैठकमा विपक्षी दलको नेताको तर्फबाट बोल्दै प्रचण्डले सरकार सुरुका दिनमा देखाएको तदारुकता पछिल्ला दिनमा कमजोर हुँदै गएको बताए। सरकारकाे पछिल्लो कार्यशैलीले सरकार असफलतातर्फ गएको उनको टिप्पणी थियो।

उनले भने, ‘सेनाले आफ्नो ठाउँमा जुन तरिकाले सहयोग र भूमिका निर्वाह गरिरहेको छ, त्यसका लागि धन्यवाद दिएका छौँ। तर सेना परिचालनसँगै जनपरिचालन जोडिएन भने, केन्द्रीय सरकारसँगै प्रदेश र स्थानीय सरकार परिचालन भएनन् भने समस्याको समाधान कठिन हुन्छ।’

प्रचण्डले पछिल्लो सात दिनको सरकारी गतिविधिमा सुरुवाती तदारुकता र पछिल्लो कार्यशैलीबीच विरोधाभास देखिएको बताए। फिल्डमा रहेका जनप्रतिनिधि, आफ्नो दलका स्थानीय नेता–कार्यकर्ता तथा आम नागरिकबाट सरकार उद्धार कार्यमा सफल नभएको गुनासो आएको उनको दाबी थियो।

‘सरकार उद्धार कार्यमा सफल होइन, असफल भयो भन्ने जनगुनासो सबैभन्दा बढी सुनेको छु,’ उनले भने।

उनले सरकार असफलताबाट शिक्षा लिएर आगामी दिनमा राजनीतिक दल, प्रदेश तथा स्थानीय सरकार र नागरिकलाई विश्वासमा लिएर अघि बढ्नुपर्ने बताए। राहत, उद्धार र पुनःस्थापनाका काममा अझ प्रभावकारी समन्वय आवश्यक रहेको उनको भनाइ थियो।

विदेशी सहयोग लिन सरकारले पर्याप्त तत्परता नदेखाएको भन्दै प्रचण्डले त्यसलाई पनि सरकारको कमजोरीका रूपमा औँल्याए। राहत तथा पुनःस्थापनासँगै दीर्घकालीन पुनर्निर्माणका लागि सरकार गम्भीर हुनुपर्ने उनले सुझाव दिए।

भोटेकोशी बाढीलाई सरकारले आफ्नो औचित्य पुष्टि गर्ने अवसरका रूपमा लिनुपर्ने बताउँदै प्रचण्डले संकटको समयमा सरकार सबै पक्षसँग सहकार्य र समन्वय गरेर अघि बढ्नुपर्नेमा जोड दिए