काठमाडौ । नेपाली कम्युनिस्ट पार्टीका संयाेजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विपद् व्यवस्थापन, जलवायु परिवर्तन र विकासका विषयमा सरकार तथा नयाँ सांसदहरूबीच आवश्यक समन्वय हुन नसकेको टिप्पणी गरेका छन्।
संसद्मा बोल्दै प्रचण्डले आफूले २०७२ सालको भूकम्प, सिन्धुपाल्चोकको जुरे पहिरो, मनाङको बाढी तथा जाजरकोटको भूकम्पलगायतका विपद्का घटनाको अनुभव गरेको उल्लेख गरे। ती अनुभवका आधारमा विपद् जोखिम, भूगोल र विकासबीचको सम्बन्धलाई गम्भीर रूपमा बुझ्नुपर्ने उनको भनाइ थियो।
उनले नयाँ सांसद र सरकारबीच केही विषयमा तारतम्य नमिलेको हो कि भन्ने प्रश्नसमेत उठाए। नेपालको भौगोलिक तथा भौगर्भिक अवस्थालाई बुझेर विकासको मोडल तय गर्नुपर्नेमा उनले जोड दिए।
प्रचण्डले आफू देशको प्रधानमन्त्री हुँदा तथा संयुक्त राष्ट्रसंघमा नेपालको प्रतिनिधित्व गर्दा हिमालय पर्वतको संवेदनशीलताबारे अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराएको पनि बताए। हिमालयका चट्टान र हिउँले वातावरणीय सन्तुलनमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको उल्लेख गर्दै उनले कार्बन उत्सर्जन र बढ्दो तापक्रमका कारण हिमालमा रहेका हिउँ तथा चट्टानको क्षयीकरण हुन सक्ने चेतावनी आफूले त्यतिबेला नै दिएको बताए।
यस्तो क्षयीकरणले भविष्यमा हिमाली क्षेत्र मात्र नभई मानव समुदायमै गम्भीर संकट निम्त्याउन सक्ने विषय अन्तर्राष्ट्रिय मञ्चमा उठाएको उनको भनाइ थियो। उक्त विषयमा विभिन्न राष्ट्रका प्रमुखहरूले आफू संवेदनशील रहेको बताउँदै नेपालको चासो महत्वपूर्ण भएको प्रतिक्रिया दिएको पनि प्रचण्डले स्मरण गरे।
नेपालको भूगोल र भूगर्भका विषयमा विज्ञ तथा भूगर्भविद्सँग छलफल गर्दै आफूले धेरै कुरा सिक्ने अवसर पाएको बताउँदै उनले नेपालमा रहेका बस्ती र विकासका संरचनालाई भौगोलिक जोखिमअनुकूल कसरी अघि बढाउने भन्ने विषयमा साझा धारणा बनाउनुपर्ने आवश्यकता औँल्याए।


