काठमाडौं । विकसित देशका उद्योगधन्दा तथा ग्यासजन्य गतिविधिबाट उत्सर्जित हरितगृह ग्यास र बढ्दो विश्व तापमानका कारण मानव बस्तीहरू संकटमा परेको नेकपा एमालेका संसदीय दलका नेता रामेश्वर थापाले बताएका छन्।
उनले जलवायु परिवर्तनका कारण समुद्रको सतह बढ्दै जाँदा समुद्रतटीय राष्ट्र तथा त्यहाँका बस्तीहरू लोप हुने जोखिम बढेको बताए। विज्ञहरूका अनुसार देखिएको यस विपत्तिको वस्तुनिष्ठ मूल्यांकन गर्दै समुचित अध्ययन र दीर्घकालीन योजना बनाउनुपर्ने उनको भनाइ छ।
थापाले विपत्तिलाई शोकमा सीमित नराखी त्यसलाई शक्तिमा बदल्नुपर्नेमा जोड दिए। उनले भने, “समुद्रको सतह बढेको छ। तटीय क्षेत्रका बस्तीहरूको अस्तित्व नै संकटमा पर्ने खतरा बढेको छ।”
नेपालले हरेक वर्ष बाढी, पहिरो लगायतका विपद् भोग्नुपर्ने अवस्था नियति हो कि परम्परा भन्ने प्रश्न उठ्न थालेको भन्दै उनले यस अवस्थालाई परिवर्तन गर्न दृढ संकल्पका साथ अघि बढ्नुपर्ने बताए।
उनले प्रधानमन्त्रीलाई एकाङ्की ढंगले अघि बढ्ने शासन प्रणालीमा गुणात्मक परिवर्तन गर्दै राष्ट्रिय सहमतिका आधारमा विद्यमान संकट समाधानका लागि पहल गर्न सुझाव दिएका छन्। सामूहिक प्रयासबाट मात्रै यस्ता संकटको सामना गर्न सकिने भन्दै उनले विशेष संयन्त्र तथा समिति गठन गर्नुपर्ने धारणा राखे।
त्यस्तै, विपद्का समयमा युद्धस्तरमा उद्धार तथा राहत कार्य सञ्चालन गर्न रक्षामन्त्रीको नेतृत्वमा ‘युनिफाइड टास्क फोर्स’ गठन गर्नुपर्ने सुझाव पनि उनले दिएका छन्।
थापाले विपद् व्यवस्थापन, जलवायु परिवर्तनको प्रभाव न्यूनीकरण र राष्ट्रिय सहमतिमार्फत संकट समाधानका लागि विभिन्न सातवटा सुझाव प्रस्तुत गरेका हुन्।


