काठमाडौं । नेपाली कांग्रेसका सांसद भीष्मराज आम्दाङेले सरकारले विदेशी सहयोगको उचित व्यवस्थापन गर्न नसक्दा धेरै नागरिकले ज्यान गुमाउनुपरेको आरोप लगाउनुभएको छ।
संसदमा बोल्दै सांसद आम्दाङेले विज्ञ, अनुभवी टोली तथा सम्बन्धित दल र व्यक्तिहरूको सुझावलाई बेवास्ता गर्दै आफैं टनेलमा पुगेर फोटो–भिडियो खिचाउने काम कति संवेदनशील हो भन्दै सरकारप्रति प्रश्न उठाउनुभयो।
उहाँले गृहमन्त्री सुदन गुरुङतर्फ संकेत गर्दै संकटको समयमा प्रचारमुखी गतिविधिभन्दा उद्धार तथा राहतलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो।
‘त्यहाँ तपाईंका आफन्त कोही परेको भए के गर्नुहुन्थ्यो? अथवा तपाईं आफैंले राज्यको तर्फबाट प्रयत्न गर्नुपरेको भए के गर्नुहुन्थ्यो?’ भन्दै उहाँले सरकारको कार्यशैलीप्रति प्रश्न गर्नुभयो।
सांसद आम्दाङेले प्रधानमन्त्रीले संसदमा सबै कुरा ठीकठाक रहेको दाबी गर्दै संसदबाट बाहिरिनुभएकोप्रति पनि असन्तुष्टि जनाउनुभयो। संसदमा सांसदहरूले उठाएका विषय र सुझावलाई सरकारले गम्भीरतापूर्वक सुन्न सकेको भए नयाँ र राम्रा काम गर्न सहज हुने उहाँको भनाइ थियो।
उहाँले विपद्का बेला सरकार, सुरक्षा निकाय, विज्ञ तथा राजनीतिक दलबीच प्रभावकारी समन्वय आवश्यक रहेको भन्दै उद्धार र राहतमा राज्यको सम्पूर्ण शक्ति परिचालन गर्नुपर्नेमा जोड दिनुभयो।


