काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद गणेश पराजुलीले रसुवामा आएको बाढीपहिरोका बेला सरकारले प्रभावकारी तदारुकता देखाउन नसकेको आरोप लगाएका छन्।
बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद पराजुलीले विपद्का बेला सरकार भावुक भएर बस्नुभन्दा राज्यका सबै संयन्त्रलाई प्रभावकारी रूपमा परिचालन गर्नुपर्ने बताए।
उनले विपद्को समयमा सही नेतृत्व, सही व्यक्तिको क्षमता र राज्यका उपलब्ध स्रोत–साधनको अधिकतम प्रयोग गर्नुपर्नेमा सरकार त्यसमा चुकेको आरोप लगाए।
“संसद्, सुरक्षा निकाय, सामाजिक संघसंस्था, विज्ञ समाज, विज्ञ व्यक्तित्व, नागरिक समाज तथा राष्ट्रिय–अन्तर्राष्ट्रिय संस्थालाई एउटै ठाउँमा उभ्याएर परिचालन गर्न सरकार असफल भयो,” उनले भने।
पराजुलीले विपद्का बेला राज्य कहाँ पुगेको छ र के गरिरहेको छ भन्ने स्पष्ट सूचना नागरिकले पाउन नसकेको बताए। घटनास्थलमा पुगेर मात्र राज्यको उपस्थिति देखाउनेभन्दा राज्यका सम्पूर्ण संयन्त्रलाई सशक्त रूपमा परिचालन गर्नुपर्ने उनको भनाइ थियो।
उनले विपद्मा परेका नागरिकलाई आफू एक्लो भएको महसुस हुन दिन नहुने बताए। “नागरिकलाई राज्य साथमा छ भन्ने अनुभूति दिलाउनुपर्छ। राज्य सशक्त रूपमा प्रस्तुत हुनुपर्छ,” उनले भने।
देशभित्र र बाहिर रहेका ज्ञान, अनुभव र सीप भएका सबैलाई विपद् व्यवस्थापनमा सहभागी गराउनुपर्नेमा समेत उनले जोड दिए। सरकारसँग उपलब्ध सबै क्षमता र स्रोतलाई एकीकृत रूपमा परिचालन गर्न नसक्नुको कारणबारे उनले प्रश्न उठाए।
पराजुलीले विपद्का बेला सरकारको प्राथमिक जिम्मेवारी र मूल दायित्व के हो भन्ने नै बिर्सिएको जस्तो देखिएको टिप्पणी गरे। जिम्मेवारी र प्राथमिक दायित्वबाट राज्य चुक्दा त्यसको असर विपद्मा परेका नागरिकले भोग्नुपरेको उनको भनाइ थियो।


