काठमाडौं । सर्वोच्च अदालतको संयुक्त इजलासले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दायर गरेको रिट निवेदनमा भएको त्रुटि सच्याउन माग गरिएको निवेदन अस्वीकार गरेको छ।
आज न्यायाधीशद्वय शारदा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासले फैसला तथा आदेशमा उल्लेख भएको विवरण सच्याउन माग गरिएको निवेदनमाथि सुनुवाइ गर्दै निवेदकको मागबमोजिम संशोधन गर्न नमिल्ने आदेश दिएको हो।
देउवाले निर्वाचन आयोगसहितलाई विपक्षी बनाई दायर गरेको रिट निवेदनमा नेपाली कांग्रेसको अवैधानिक विशेष अधिवेशनबाट निर्वाचित भनिएका गगनकुमार थापाको अध्यक्षतामा प्रचारित नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिलाई विपक्षी बनाइएको उल्लेख थियो। तर, आफूले विपक्षी नबनाएको व्यक्तिको नामसमेत फैसलामा उल्लेख भएको भन्दै फैसलामा त्रुटि भएको दाबी गर्दै देउवाका तर्फबाट निवेदन परेको थियो।
सर्वोच्चको आदेशमा रिट निवेदन, विपक्षीहरूको लिखित जवाफ तथा सम्बन्धित प्रमाणहरूको समुचित मूल्यांकन गरी अन्तिम आदेश वा फैसला हुने क्रममा निवेदनपत्र वा फिरादपत्रमा उल्लेख भएबमोजिम नै आदेश वा फैसलामा लेखिनुपर्ने देखिएको उल्लेख छ।
आदेशमा फैसलामा उल्लेख भएको विवरण सच्याउन देउवाका तर्फबाट गरिएको मागबमोजिम संशोधन गर्न नमिल्ने ठहर गर्दै ‘कानुनबमोजिम गर्नु’ भनिएको छ।


