काठमाडौं । रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान तिब्बततर्फबाट आएको भीषण बाढीले रसुवा, नुवाकोट र धादिङका विभिन्न क्षेत्रमा ठूलो मानवीय तथा भौतिक क्षति पुर्याएको भन्दै नेपाली कम्युनिष्ट पार्टीले गम्भीर चिन्ता व्यक्त गरेको छ।
पार्टीका प्रवक्ता प्रकाश ज्वालाले जारी गरेको प्रेस विज्ञप्तिमा बाढीबाट रसुवागढी, टिमुरे, स्याफ्रु, मैलुङ र बेत्रावतीलगायतका बस्ती प्रभावित भएको उल्लेख गरिएको छ। प्रभावित क्षेत्रमा नागरिक, सुरक्षाकर्मी तथा कर्मचारी सम्पर्कविहीन भएको, केही घाइते भएको तथा घर–पसल, पशुचौपाया, भन्सार कार्यालय, प्रहरी चौकी, टेलिकम टावर, सडक, पुल, हाइड्रोपावर आयोजना, विद्युत् गृह तथा सबस्टेसन र खेतबारीमा ठूलो क्षति पुगेको जनाइएको छ।
बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनका नदी तटीय क्षेत्रमा जोखिम अझै बढ्न सक्ने भन्दै पार्टीले नदी आसपासका नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। सुरक्षित स्थानमा बस्न, जोखिमपूर्ण यात्रा नगर्न तथा स्थानीय प्रशासन र सुरक्षा निकायको निर्देशन पालना गर्न पनि अपिल गरिएको छ।
पार्टीले विपद्मा परेका नागरिकको जीवनरक्षा पहिलो प्राथमिकता हुनुपर्ने भन्दै उद्धार तथा राहतका लागि राज्यका सम्पूर्ण संयन्त्र, साधन–स्रोत र विकल्प परिचालन गर्न सरकारसँग विशेष आग्रह गरेको छ।
त्यस्तै, संघ, प्रदेश र स्थानीय सरकार, जनप्रतिनिधि, सुरक्षा निकाय, राजनीतिक दल, नागरिक समाज, सामाजिक संघ–संस्था तथा आम नागरिकबीच समन्वय र सहकार्य आवश्यक रहेको पार्टीले जनाएको छ। बाढीमा फसेकाको उद्धार, घाइतेको उपचार तथा राहत कार्यलाई प्रभावकारी बनाउन सबै पक्ष एकजुट हुन पार्टीले अपिल गरेको छ।
नेपाली कम्युनिष्ट पार्टीले आफ्ना नेता, कार्यकर्ता तथा जनप्रतिनिधिलाई प्रभावित क्षेत्रमा तत्काल उद्धार तथा राहत कार्यमा सक्रिय हुन, स्थानीय प्रशासन र सुरक्षा निकायसँग समन्वय गर्न तथा मानवीय सहयोगमा जुट्न विशेष निर्देशनसमेत दिएको छ।
पार्टीले ‘सबै सुरक्षित रहौं, एकजुट भएर उद्धार, राहत र मानवीय सेवामा जुटौं’ भन्ने अपिल गरेको छ।


