काठमाडौं । नेपाली कांग्रेसको संस्थापन पक्ष र इतर समूहबीचको आन्तरिक विवाद अदालतसम्म पुगेपछि १५औँ महाधिवेशनबारे अन्योल देखिएका बेला कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले महाधिवेशन नरोकिने दाबी गरेका छन्।
कांग्रेस नेता तथा कार्यकर्तालाई भिडियो सन्देशमार्फत सम्बोधन गर्दै शर्माले अदालतमा दायर भएको रिट र त्यसबाट उत्पन्न जिज्ञासालाई सम्बोधन गर्दै १५औँ महाधिवेशनमा सहभागी हुन अपिल गरेका हुन्। उनले अन्तरिम आदेश आउने सम्भावना नरहेको दाबी गर्दै महाधिवेशन निर्धारित समयमै हुने स्पष्ट पारे।
कांग्रेस केन्द्रीय समितिको बैठकले १५औँ महाधिवेशन आगामी असोज १६ देखि १९ गतेसम्म गर्ने निर्णय गरिसकेको छ। पार्टीभित्र केही आन्तरिक असहमति र विवाद भए पनि त्यसलाई संवादमार्फत समाधान गर्दै सबै पक्षलाई समेटेर अघि बढ्नुपर्ने शर्माको भनाइ छ।
उनले कांग्रेसको आन्तरिक विवादलाई लिएर नेता–कार्यकर्तामा देखिएको अन्योल र जिज्ञासालाई चिर्न आफूले भिडियो सन्देश जारी गरेको बताए। पार्टीभित्र असहमति हुनु स्वाभाविक भए पनि त्यसको समाधानका लागि संवाद, सहकार्य र समझदारीको बाटो रोज्नुपर्ने उनले बताएका छन्।
शर्माले संविधानको धारा २७९(४) ले विशेष परिस्थिति बाहेक नियमित महाधिवेशन रोक्न नमिल्ने व्यवस्था गरेको उल्लेख गरे। विशेष परिस्थितिमा दलको महाधिवेशनको अवधि बढीमा छ महिनासम्म थप्न सकिने कानुनी व्यवस्था भए पनि त्यो समयसमेत गुज्रिसकेको उनको दाबी छ।
कांग्रेसको विधानमा नियमित महाधिवेशन चार वर्षमा गर्ने र विशेष परिस्थितिमा एक वर्ष थप गर्न सकिने व्यवस्था रहेको उल्लेख गर्दै शर्माले त्यसपछि थप समय लम्ब्याउने कानुनी बाटो नरहेको बताए। विशेष परिस्थितिमा समेत महाधिवेशनको अवधि थप्न सकिने समयसीमा समाप्त भइसकेकाले अब नियमित महाधिवेशन गर्नुपर्ने उनको भनाइ छ।
उनले पार्टीभित्र देखिएका मतभेदलाई समाधान गर्दै सबै पक्षलाई समेटेर कांग्रेसलाई एकताबद्ध बनाउनुपर्नेमा जोड दिए। इतर समूहका नेताहरूलाई समेत अहंकार त्यागेर पार्टी एकताको पक्षमा उभिन शर्माले आग्रह गरेका छन्।
शर्माले कांग्रेसको १५औँ महाधिवेशनलाई निर्धारित मितिमै सम्पन्न गर्न नेता तथा कार्यकर्तालाई सक्रिय भएर सहभागी हुनसमेत अपिल गरेका छन्।


