पोखरा । नेकपा एमालेले गण्डकी प्रदेश सरकारबाट आफ्ना चार मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको छ। एमाले संसदीय दलको बोर्ड बैठकले मन्त्रीहरूलाई सरकारबाट फिर्ता बोलाउने निर्णय गरेको हो।
निर्णयअनुसार एमालेका मन्त्रीहरूले उपनेता लिलबहादुर थापा मगरको नेतृत्वमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई भेटेर सामूहिक रूपमा राजीनामा बुझाउने तयारी गरेका छन्। बुधबार बस्ने संसदीय दलको बैठकले सरकारबाट बाहिरिने निर्णय अनुमोदन गर्नुका साथै समसामयिक राजनीतिक विषयमा छलफल गर्ने एमाले प्रमुख सचेतक देवका पहारीले बताएकी छन्।
गण्डकी सरकारमा एमालेबाट गोविन्दबहादुर नेपाली भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री, भीम कार्की भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री, यशोदा रिमाल उद्योग तथा पर्यटन मन्त्री र लक्ष्मण पाण्डे स्वास्थ्य मन्त्री छन्।
केन्द्रमा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच राजनीतिक सहकार्य अघि बढेपछि त्यसको प्रभाव प्रदेश सरकारमा पनि परेको हो। एमालेले गण्डकीमा पनि नेकपासहितका दलसँग सहकार्य गरी नयाँ सरकार गठनको सम्भावनाबारे छलफल अघि बढाउने जनाएको छ।
६० सदस्यीय गण्डकी प्रदेशसभामा हाल ५९ सदस्य कायम छन्। स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) पदमुक्त भएपछि एक पद रिक्त छ। सरकार गठनका लागि ३० सांसदको समर्थन आवश्यक पर्छ। एमालेका २२ र नेकपाका ६ सांसद भए पनि दुई दलका गरी २८ मात्रै सांसद पुग्ने भएकाले नयाँ सरकार गठनका लागि थप समर्थन आवश्यक देखिन्छ।


