काठमाडौं । उज्यालो नेपाल पार्टीका संयोजक कुलमान घिसिङले डेडिकेटेड तथा ट्रंक लाइनको बक्यौता रकम उठाउन नसकेको भन्दै सरकारप्रति आक्रोश व्यक्त गरेका छन् ।
मंगलबार काठमाडौंको बानेश्वरमा उज्यालो नेपाल पार्टीले डेडिकेटेड तथा ट्रंक लाइनको बक्यौता रकम उठाउन माग गर्दै आयोजना गरेको हस्ताक्षर अभियानमा सहभागी हुँदै घिसिङले सरकारले विभिन्न निकायबाट उठ्नुपर्ने राजस्व उठाउन नसकेको आरोप लगाए ।
उनले नागरिकमाथि करको भार थपेर राज्य सञ्चालन गर्नेभन्दा सरकारले नागरिकलाई आवश्यक वस्तु तथा सेवामा सहुलियत दिनुपर्ने बताए । ऊर्जा खपत बढाउन आग्रह गर्दै उनले ग्यासको लाइनमा बस्नुभन्दा इन्डक्सन चुलो लगायत विद्युतीय सामग्रीको प्रयोग गर्न नागरिकलाई आग्रह गरे ।
नेपाल विद्युत् प्राधिकरणको नेतृत्वमा रहँदा आफूले जुनसुकै अवस्थामा पनि विद्युत् प्रयोग गर्दा समस्या नआउने गरी व्यवस्थापन गरेको दाबी गर्दै घिसिङले विद्युत् उत्पादन र वितरण प्रणालीलाई थप प्रभावकारी बनाउनुपर्ने बताए ।
इन्डक्सन चुलो प्रयोग गर्दा ट्रान्सफर्मर पड्किन सक्ने विषयमा प्रधानमन्त्रीले संसदमा दिएको अभिव्यक्तिबारे सञ्चारकर्मीको प्रश्नमा घिसिङले प्रयोग गरेर मात्र त्यसको वास्तविक अवस्था थाहा हुने बताए । संसदमा सरकारबाट यस्तो जवाफ आउनु गैरजिम्मेवार भएको उनको टिप्पणी थियो ।
घिसिङले नेपालले ऊर्जा र जलस्रोतको उपयोग गर्दै भारत, बंगलादेश लगायत छिमेकी मुलुकमा विद्युत् बिक्री गरेर अर्बौं रुपैयाँ राजस्व आर्जन गर्न सक्ने बताए । तर सरकारले त्यतातर्फ पर्याप्त ध्यान नदिई सामान्य नागरिकबाट कर उठाउनेतर्फ बढी केन्द्रित भएको उनको आरोप थियो ।
उनले सरकारलाई डेडिकेटेड तथा ट्रंक लाइनको बक्यौता लगायत विभिन्न क्षेत्रबाट उठ्नुपर्ने राजस्व तत्काल उठाउनसमेत आग्रह गरे।


