बुटवल । लुम्बिनी प्रदेश सरकारको मन्त्रिमण्डल विस्तारलाई लिएर सत्तारूढ नेपाली कम्युनिस्ट पार्टी (नेकपा) भित्र असन्तुष्टि चुलिएको छ। साविक नेकपा माओवादी केन्द्रबाट मात्रै मन्त्री बनाउने तयारी भएपछि साविक नागरिक उन्मुक्ति पार्टी र नेकपा एकीकृत समाजवादी पृष्ठभूमिका सांसद असन्तुष्ट बनेका हुन्।
साविक नागरिक उन्मुक्ति पार्टीबाट नेकपामा समाहित प्रदेशसभा सदस्य राजकुमार चौधरीले आफूलाई विपक्षी बेन्चमा बस्ने व्यवस्था मिलाइदिन प्रदेशसभा सचिवालयमार्फत माग गरेका छन्। उनले पार्टी एकताको मूल मर्म र भावनाविपरीत साविक माओवादी पृष्ठभूमिबाट एकलौटी रूपमा मन्त्री छनोट गरिएको आरोप लगाएका छन्।
चौधरीले संसदीय अभ्यास, मर्यादा र परम्पराअनुसार आफूलाई विपक्षीको हैसियतमा बस्ने व्यवस्था मिलाउन आग्रह गरेका छन्। उनका अनुसार मन्त्रिमण्डल गठनबारे साविक नागरिक उन्मुक्ति र एकीकृत समाजवादी पृष्ठभूमिका सांसदसँग पर्याप्त छलफलसमेत गरिएको छैन।
लुम्बिनी प्रदेशसभाको आधिकारिक विवरणमा राजकुमार चौधरी नागरिक उन्मुक्ति पार्टीका प्रदेशसभा सदस्यका रूपमा उल्लेख छन्।
मन्त्रिमण्डल विस्तारका लागि नेकपाले तीन मन्त्रालय पाउने सहमति भए पनि मन्त्री छनोटमा आन्तरिक विवाद देखिएको हो। यसअघि पनि मन्त्रीको भागबन्डामा सहमति जुट्न नसक्दा शपथ रोकिएको थियो।
यस विवादले पार्टी एकीकरणपछि बनेको नेकपाभित्र शक्ति बाँडफाँट र प्रतिनिधित्वको विषयमा असन्तुष्टि बढेको संकेत गरेको छ। विवाद समाधान नभए प्रदेश सरकारको सत्ता समीकरणसमेत प्रभावित हुन सक्ने देखिएको छ।


