मतदाता नामावली अद्यावधिक गर्न निर्वाचन आयोगको आग्रह

अ+
अ
अ-

काठमाडौं । निर्वाचन आयोगले मतदाता नामावलीमा रहेका विवरण सच्याउन तथा अद्यावधिक गर्न सम्बन्धित मतदातालाई आग्रह गरेको छ। आयोगले मतदाता नामावलीलाई शुद्ध, अद्यावधिक, विश्वसनीय तथा वस्तुगत बनाउन नियमित रूपमा अद्यावधिक गर्ने कार्य भइरहेको जनाएको छ।

आयोगका अनुसार आगामी २०८३ असोज १ गते आयोगको वेबसाइटमा मतदाता नामावली प्रकाशन हुनेछ। त्यसअघि नामावलीमा रहेका विवरण यथार्थ र अद्यावधिक बनाउन सम्बन्धित मतदाताको समेत महत्वपूर्ण भूमिका रहने आयोगले जनाएको छ।

आयोगले मतदाता नामावलीमा आफ्नो नाम, थर, उमेर, ठेगानालगायत विवरणमा त्रुटि भए सच्याउन, कसैले झुटा विवरण दिएर नाम समावेश गराएको जानकारी भए आयोगलाई जानकारी गराउन तथा एउटै मतदाताको नाम एकभन्दा बढी स्थानमा समावेश भएको भए एक स्थानमा मात्र कायम गर्न आग्रह गरेको छ।

त्यस्तै, बसाइँसराइ वा विवाहका कारण स्थायी ठेगाना परिवर्तन भएको भए सम्बन्धित प्रक्रियामार्फत मतदाता नामावलीमा रहेको ठेगाना अद्यावधिक गर्न पनि आयोगले अनुरोध गरेको छ।

आयोगले मतदाता नामावलीसम्बन्धी विवरण सच्याउन वा अद्यावधिक गर्न सम्बन्धित निर्वाचन कार्यालय वा अनलाइन प्रणालीमार्फत निवेदन दिन सकिने जनाएको छ। मतदाता नामावलीमा त्रुटि सच्याउने तथा ठेगाना परिवर्तनसम्बन्धी निवेदन अनलाइनबाट समेत दिन सकिने व्यवस्था रहेको निर्वाचन कार्यालयहरूले जनाएका छन्।