काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले प्रधानमन्त्रीको सचिवालयले आफूलाई सात घण्टासम्म थुनेर राखेको भन्ने समाचारप्रति स्पष्टीकरण दिएका छन्।
बिहीबार बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सांसदहरूले प्रधानमन्त्रीको सचिवालयमा अख्तियारका कर्मचारीलाई बोलाएर सात घण्टासम्म राखिएको र विभिन्न विषयमा दबाब दिइएको भन्ने विषयमा प्रमुख आयुक्त राईसँग प्रश्न गरेका थिए।
जवाफमा राईले प्रधानमन्त्रीको सचिवालयबाट आफूलाई कुनै किसिमको मानसिक दबाब नदिइएको स्पष्ट पारे। प्रधानमन्त्रीले अख्तियारमा परेका मुद्दाहरू छिटो किनारा लगाउन तथा आयोगको कार्यप्रगति देखाउन निर्देशन दिएको उनले बताए।
राईका अनुसार प्रधानमन्त्रीले निर्देशन लिन, सुझाव लिन तथा सुझाव दिनका लागि समेत सम्बन्धित निकायका अधिकारीलाई बोलाउन सक्ने र विभिन्न विषयमा छलफल हुन सक्ने अवस्था रहन सक्छ।
उनले प्रधानमन्त्रीको सचिवालयमा बोलाइएका क्रममा आफू वा अख्तियारका कर्मचारीमाथि ‘मानसिक रूपमा विभिन्न खाले दबाब’ नदिइएको दाबी गरे।
यसअघि केही सञ्चारमाध्यममा प्रधानमन्त्रीको सचिवालयमा अख्तियारका कर्मचारीलाई बोलाएर सात घण्टासम्म राखिएको र पासपोर्ट ठेक्का प्रकरणमा मुद्दा चलाउन दबाब दिइएको विषय सार्वजनिक भएको थियो। यही विषयलाई लिएर सांसदहरूले बिहीबारको समितिको बैठकमा प्रमुख आयुक्त राईसँग प्रश्न गरेका थिए।
राईको स्पष्टीकरणसँगै प्रधानमन्त्रीको सचिवालयमा अख्तियारका कर्मचारीलाई बोलाइएको विषय र पासपोर्ट ठेक्का प्रकरणमा दबाब दिइएको भनिएको घटनाबारे थप बहस सुरु भएको छ।


