बागमतीको मुख्यमन्त्रीमा किरण थापा मगर नियुक्त

अ+
अ
अ-

हेटौँडा । बागमती प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) का नेता किरण थापा मगर नियुक्त भएका छन्। प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम थापा मगरलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।

प्रदेशसभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत जुटाउन सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्ने संवैधानिक व्यवस्थाअनुसार थापा मगरलाई मुख्यमन्त्री नियुक्त गरिएको हो।

थापा मगरलाई नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को समर्थन रहेको छ। बागमती प्रदेशसभामा सरकार गठनका लागि ५६ सांसदको समर्थन आवश्यक पर्नेमा राप्रपाका १२ सांसदको समर्थनपछि नयाँ सत्ता समीकरणले बहुमत जुटाएको हो।

थापा मगर बागमती प्रदेशका सातौँ मुख्यमन्त्री बनेका छन्। यसअघि उनले बागमती प्रदेश सरकारमा स्वास्थ्यमन्त्रीका रूपमा समेत जिम्मेवारी सम्हालिसकेका थिए।

मुख्यमन्त्री नियुक्त भएसँगै थापा मगरले पद तथा गोपनीयताको शपथ लिने छन्। नयाँ सरकार गठनसँगै बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तारको तयारीसमेत अघि बढने छ।