बागमतीको मुख्यमन्त्रीमा एमालेका किरण थापा मगर नियुक्त हुँदै, राप्रपाको समर्थनलाई लिएर विवाद

अ+
अ
अ-

हेटौँडा । बागमती प्रदेशमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को समर्थनलाई लिएर विवाद भइरहेका बेला नेकपा एमालेका किरण थापा मगर मुख्यमन्त्री नियुक्त हुने भएका छन्।

प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम थापा मगरलाई मुख्यमन्त्री नियुक्त गर्ने प्रक्रिया अघि बढाएका छन्। प्रदेश प्रमुखको कार्यालयका अनुसार उनलाई बिहीबार अपराह्न ४ बजेर ५ मिनेटमा मुख्यमन्त्री नियुक्त गर्ने र ४ बजेर २० मिनेटमा शपथ गराउने कार्यक्रम तय भएको छ।

थापा मगरले नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र राप्रपाको समर्थनमा मुख्यमन्त्री पदमा दाबी पेस गरेका थिए। बागमती प्रदेशसभामा सरकार गठनका लागि ५३ सांसदको समर्थन आवश्यक पर्नेमा एमाले र नेकपासँग गरी ५१ सांसद छन्। राप्रपाका १२ सांसदको समर्थनपछि थापा मगरको पक्षमा बहुमत पुगेको हो।

तर, राप्रपा केन्द्रले भने प्रदेश सरकार गठनमा पार्टीको आधिकारिक समर्थन नरहेको जनाएको छ। राप्रपा बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापाले समर्थन गरेपछि पार्टीभित्र विवाद उत्पन्न भएको हो। प्रदेश प्रमुखले भने संसदीय दलबाट प्राप्त समर्थनका आधारमा थापा मगरलाई मुख्यमन्त्री नियुक्त गर्ने प्रक्रिया अघि बढाएका छन्।

मुख्यमन्त्री नियुक्त भएपछि थापा मगरले एक महिनाभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्नेछ।