काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बागमती प्रदेशका सांसदहरूले नेकपा एमालेका मुख्यमन्त्रीका उम्मेदवार किरण थापालाई समर्थन गरेको विषयलाई लिएर राप्रपाभित्र विवाद चर्किएको छ।
राप्रपा बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापाले आफ्ना १२ जना सांसदले एमालेका मुख्यमन्त्री उम्मेदवार किरण थापा मगरलाई समर्थन गरेको भन्दै पत्र सार्वजनिक गरेपछि पार्टीभित्र असन्तुष्टि देखिएको हो।
उक्त सहमतिप्रति राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले असहमति जनाउँदै पार्टीको निर्णयविपरीत गतिविधि गर्नेलाई कारबाही गरिने चेतावनी दिएका छन्।
लिङ्देनले बागमती प्रदेशमा एमालेलाई सहयोग गर्ने विषयमा पार्टीले कुनै निर्णय नगरेको स्पष्ट पार्दै भनेका छन्, ‘बागमती प्रदेशमा एमालेलाई सहयोग गर्ने कुनै निर्णय भएको छैन। यसमा हाम्रो असहमति छ। जसले यस्ता गतिविधि गरेका छन्, उनीहरूमाथि कारबाही हुनेछ।’
यसैबीच, राप्रपाको अनुशासन समितिले पनि पार्टीको निर्णयविपरीत गतिविधि गर्ने सांसद तथा नेताहरूलाई कारबाहीको चेतावनी दिएको छ।
राप्रपा प्रचार विभाग प्रमुख मोहनकृष्ण श्रेष्ठले पनि पार्टीको निर्णयविपरीत हुने गतिविधिप्रति अनुशासन समिति गम्भीर रहेको जनाउँदै त्यस्ता गतिविधिमा संलग्नलाई कारबाही गरिने बताएका छन्।
बागमती प्रदेशमा मुख्यमन्त्री चयनको विषयलाई लिएर राप्रपाका सांसदहरू एमाले उम्मेदवारको पक्षमा उभिएपछि पार्टीको आधिकारिक निर्णय र प्रदेश सांसदहरूको भूमिकाबीच देखिएको अन्तरले राप्रपाभित्र नयाँ विवाद सिर्जना गरेको छ।
यस घटनापछि बागमती प्रदेशको सत्ता समीकरणसँगै राप्रपा र एमालेबीचको राजनीतिक सम्बन्धलाई लिएर प्रश्न उठ्न थालेका छन्। राप्रपाले भने पार्टीको आधिकारिक निर्णयविपरीत कुनै पनि राजनीतिक सहमति स्वीकार्य नहुने संकेत गरेको छ।

