काठमाडौं । दक्षिण अमेरिकी मुलुक कोलम्बियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। भूकम्पका कारण हालसम्म कम्तीमा १८ जनाको मृत्यु भएको पुष्टि भएको छ भने दर्जनौँ मानिस घाइते भएका छन्।
अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) का अनुसार भूकम्पको केन्द्रबिन्दु काली र मेडेलिन सहरको बीचमा पर्ने चोको क्षेत्रको सान होसे डेल पालमारमा रहेको थियो। भूकम्प करिब ८२ किलोमिटर गहिराइमा गएको बताइएको छ।
भूकम्पबाट पेरेरा सहर सबैभन्दा बढी प्रभावित भएको छ। पेरेराका मेयर अलेहाण्डाे एडसले सालाजारलमा १८ जनाको मृत्यु भएको पुष्टि गर्दै अन्य मानिस भग्नावशेषमा पुरिएको जानकारी दिएका छन्। काली सहरमा मात्रै कम्तीमा २० वटा भवन भत्किएको र ती भवनमा मानिसहरू फसेको हुनसक्ने बताइएको छ।
भूकम्पको धक्का कोलम्बियाका विभिन्न सहरसँगै छिमेकी मुलुकसम्म समेत महसुस गरिएको थियो। किव्डो, पेरेरा र मनिजालेसलगायतका क्षेत्रमा भौतिक संरचनामा क्षति पुगेको जनाइएको छ।


