काठमाडौं । इरानले हर्मुज जलमार्ग अन्तर्राष्ट्रिय जहाजका लागि पुनः खुला गर्नुअघि अमेरिकासमक्ष विभिन्न शर्तहरू अघि सारेको छ।
इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव मोहम्मद बाघेर जलधादीरले हर्मुज जलमार्गमा अन्तर्राष्ट्रिय जहाजको आवागमन खुला गर्न अमेरिकाले इरानसम्बन्धी केही महत्वपूर्ण विषयमा निर्णय लिनुपर्ने बताएका छन्।
इरानी सञ्चारमाध्यमहरूका अनुसार इरानले अमेरिकासमक्ष नौसैनिक नाकाबन्दी हटाउनुपर्ने, इरानमाथि लगाइएका सबै प्रतिबन्ध अन्त्य गर्नुपर्ने, इरान वरपर तैनाथ अमेरिकी सेना फिर्ता गर्नुपर्ने, युद्ध क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने, रोक्का गरिएका इरानी सम्पत्ति फुकुवा गर्नुपर्ने र अमेरिकी आक्रमण तथा धम्की अन्त्य गर्नुपर्ने शर्त राखेको छ।
अमेरिकी अखबार द न्यूयोर्क टाइम्सले पनि इरानले हर्मुज जलमार्ग खोल्नुअघि अमेरिकाबाट निश्चित प्रतिबद्धता खोजिरहेको जनाएको छ। इरानले अमेरिकाले इरानविरुद्धका धम्की रोक्नुपर्ने तथा विभिन्न समयमा लगाइएका प्रतिबन्धहरू हटाउनुपर्ने माग गरेको समाचारमा उल्लेख छ।
हर्मुज जलमार्ग इरान र ओमानबीच अवस्थित विश्वकै महत्वपूर्ण ऊर्जा तथा व्यापारिक जलमार्गमध्ये एक हो। विश्वको ठूलो मात्रामा तेल तथा अन्य ऊर्जा सामग्रीको समुद्री व्यापार यही जलमार्ग हुँदै हुने भएकाले यसको अवरोधले अन्तर्राष्ट्रिय बजारमा समेत प्रत्यक्ष प्रभाव पारेकाे छ।
गत फेब्रुअरीमा अमेरिका र इजरायलबाट इरानमाथि भएको आक्रमणपछि त्यसको प्रतिक्रियास्वरूप इरानले हर्मुज जलमार्गमा आवागमन पूर्ण रूपमा बन्द गरेको थियो।
यसबीच इरान र ओमानबीच जलमार्ग पुनः खोल्ने विषयमा सहमति तथा छलफल भए पनि पछिल्ला घटनाक्रमका कारण त्यसले पूर्णता पाउन सकेको छैन।
इरानी सञ्चारमाध्यमहरूले सरकारी अधिकारीहरूलाई उद्धृत गर्दै हर्मुज जलमार्ग खुल्ने वा नखुल्ने विषय मुख्यतः अमेरिकाको आगामी कदममा निर्भर रहेको जनाएका छन्।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका रिपोर्टअनुसार अमेरिकाले इरानका केही महत्वपूर्ण माग पूरा गर्दै तनाव कम गर्ने वातावरण बनाएमा हर्मुज जलमार्ग पुनः खोलिने सम्भावना रहेको बताइएको छ।


