तीन ब्रोकर कम्पनीलाई १ करोड १० लाख जरिवाना

+
-

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ को व्यवस्था उल्लङ्घन गरेको भन्दै तीन ब्रोकर कम्पनी र एक मर्चेन्ट बैंकरमाथि कारबाही गरेको छ। कानुनी दायित्व पालना नगरेको निष्कर्षसहित बोर्डले तीन ब्रोकर कम्पनीलाई कुल १ करोड १० लाख रुपैयाँ जरिवाना गरेको हो।

बोर्डका अनुसार सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ को दफा ७क को उपदफा (४) को खण्ड (घ) तथा दफा ३ग अन्तर्गतका व्यवस्था उल्लङ्घन भएको पाइएपछि कारबाही गरिएको हो।

कारबाहीमा सिप्ला सेक्युरिटिज प्रालिलाई ५० लाख रुपैयाँ जरिवाना गरिएको छ भने श्रीकृष्ण सेक्युरिटिज र हातेमालो फाइनान्सियल सर्भिसेज प्रालिलाई जनही ३० लाख रुपैयाँ जरिवाना गरिएको बोर्डले जनाएको छ। ती संस्थाले सम्पत्ति शुद्धीकरणसम्बन्धी कानुनी दायित्व पूरा नगरेको ठहर गर्दै ऐनको दफा ७फ को उपदफा (१) को खण्ड (ख) बमोजिम जरिवाना गरिएको हो।

यसैबीच, बोर्डले मर्चेन्ट बैंकर तथा सेयर रजिस्ट्रार सानिमा क्यापिटल लिमिटेडलाई पनि सचेत गराएको छ। सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको आर्थिक वर्ष २०८०/८१ को बोनस सेयर लगानीकर्ताको डिम्याट खातामा जम्मा गर्ने क्रममा २ हजार ५३३ जना सर्वसाधारण सेयरधनीको खातामा हुनुपर्नेभन्दा बढी सेयर जम्मा भएको भेटिएपछि बोर्डले आवश्यक कारबाही गर्दै कम्पनीलाई सचेत गराएको जनाएको छ।