समाचार
काभ्रेपलाञ्चोकमा प्रतिनिधिसभा निर्वाचनका लागि मनोनयन दर्ताको समयतालिका सार्वजनिक

२०८२ माघ ५ साेमबार
काभ्रेपलाञ्चोक । मुख्य निर्वाचन अधिकृतको कार्यालय, धुलिखेलले माघ ६ गते हुने आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि मनोनयन दर्ताको फरक–फरक समय तोकेको छ। कार्यालयले पत्रकार सम्मेलनमार्फत मनोनयन दर्ताका लागि राजनीतिक दलहरूले माग गरेका समयतालिका सार्वजनिक गरेको हो।
सार्वजनिक समयतालिकाअनुसार प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ र २ मा बिहान १० बजे नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले दुवै क्षेत्रमा मनोनयन दर्ता गर्नेछ।
मंगोल अर्गनाइजेशनले निर्वाचन क्षेत्र नम्बर १ मा बिहान १० बजे र क्षेत्र नम्बर २ मा ११ बजे मनोनयन दर्ता गर्ने समय माग गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीले क्षेत्र नम्बर २ मा दिउँसो १२ बजे र क्षेत्र नम्बर १ मा १२ः४५ बजे मनोनयन दर्ता गर्ने जनाएको छ।
राष्ट्रिय जनमोर्चा पार्टीले दुवै निर्वाचन क्षेत्रमा मनोनयन दर्ता गर्नेछ भने नेकपा एमालेले दिउँसो १ बजे दुवै क्षेत्रमा मनोनयन दर्ता गर्ने कार्यक्रम रहेको छ। नेपाली कांग्रेसले दुवै निर्वाचन क्षेत्रमा दिउँसो २ बजे मनोनयन दर्ता गर्नेछ।
यसैगरी नेपाली कम्युनिस्ट पार्टीले दिउँसो ३ बजे र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले ३ः३० बजे मनोनयन दर्ता गर्ने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ।

