मनोरञ्जन
कवि मुरहरि रायमाझी `हरि´ काे छन्द कविता `पतन´

शिर्षक :- पतन
रगत कति बग्यो त्यो देशका सन्ततीको
तिनबिस अझ बेसी ज्यान गो व्यर्थ नै जो।
अवसर जब आयो जेन-जी भित्र घुस्तै
अनल सहित सारा नष्ट भो सम्पदा नै।।०१
बहुत चतुर केपी रे’छ भन्थे खुबै त
किन त सहज गुम्दै गो कठै ! त्यो विवेक।
नजर कति थियो त्यो राज्यको अन्ध कस्तो?
भटट-भटट गोली ठोक्न मानौँ बसेको ।।०२
सहजसँग त पारौँ क्रान्ति निस्तेज भन्दा
अगिपछि सरि सोची जेन- जी त्यो नगन्दा।
विकट समय आयो थेग्न गाह्रो जता नै
मुलुकभरि युवा जागी उठे ती तुरुन्तै ।।०३
जब त रगत रातो बग्न थाल्यो युवाको
तब त अनल दन्क्यो सम्पदामा कठै!त्यो।
सबतिर छ खरानी औ अहो! तोडफोड
शिव!शिव!शिव!कस्को खै त रोक्ने छ जोड।।०४
सकल पुलिस-सेना हार माने जसोरी
तब त कर उठाए देखियो जो अँधेरी।
असफल सरकारै नीति जो भो दुरुस्तै
तब सब पद त्यागी बस्न लागे छिपेरै।।०५
दमकल पनि हेर्दै अग्नी दन्की रहेको
झटपट कछु पानी खै त हाल्न गएको?।
अनि अवसरवादी नाइके घाम तापे
हुकुम हुन गएको काम फत्ते गराए।।०६
अति-अति कति नेता भ्रष्ट धेरै भएर
सब मुलुक डुबाए स्वार्थ आफ्नै लिएर।
जति-जति प्रम ओली भै घमण्डी रहेका
र फलस्वरुप लुक्ने ठाउँ खोजी गएका।।०७
अकुत धन लुटेरै देश खोक्रो बनाए
ठसठस पछि दाजै भाउजू ती गनाए।
अधिक-अधिक नेता देख्दछौँ यै बिहाल
सब महल छ ध्वस्तै दैव कस्तो कुकाल।।०८
जब शठ अघि सर्छन् देश संहार पार्छन्
अनि पछि खल गोहीझैँ गरी आँसु झार्छन्।
कति छ कुटिल चाला बुझ्न गाह्रो तथापि
अलिकति पनि चेष्टा छैन मौका हुँदा नि।।०९
कति- कति नर रोटी सेक्न देशी विदेशी
हरबखत नियाली हेर्न लाग्या नदेखी ।
अझ गरल त चुच्चे चित्र जो राष्ट्रवादी
छवि सहित भई गो विघ्न साँच्चै नजाती।।१०
हरपल हठ स्वार्थी झुण्ड भित्रै बसेर
पतन अनि खरानी देश पार्यौ अँधेर।
अझ पनि मति तिम्रो छैन किञ्चित् फिरेको
हरबखत यसोरी क्यान हौला गिरेको ?।।११
तिकडम सब त्यागी लौन राम्रो चिताऊ
ऋषिमुनि हुन जाऊ जङ्गलैमा बिताऊ ।
अब सब दलका ती बृद्ध नेता सबैले
अनलसँग नखेल्नू मार्ग त्याग्नू क्रमैले।।१२
असल कहलिएका योग्य आऊ म मान्छु
अब त पठित खाँचो देशलाई म ठान्छु ।
यस समय त म्यादी काम गर्ने सुशीला
र प्रथम प्रम नारी कार्य हेरौँ यिनीका।।१३
छलबल अधिकै भो क्यान हो राजनीति
मुलुकभर छिनैमा अग्नि झोस्ने कुबुद्धि।
सबतिर पिर हिंसा भड्किँदै गो छिनैमा
टुलुटुलु छ जलेको हेर्नुपर्ने दिनैमा ।।१४
सकल मुलुक हार्यो छैन कोही जितेको
अब पिर कति गर्ने जे त भै गो हरे! यो।
सब जन मन हामी मिल्नु यौटै विकल्प
मकन त मनमा यो फुर्छ ऐले सुकल्प।।१५
‘इति’
छन्द:-मालिनी
-मुरहरि रायमाझी ‘हरि’
बनेपा नयाँबस्ती ९ , काभ्रे
२०८२/०६/०३ मा रचित

