समाचार

सेवा ठप्पको आलोचना होइन, समाधान खोजौं — एमाले अध्यक्षको सन्देश

 

श्रावण १२ साेमबार २०८२
काभ्रेपलान्चोक । नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेकपा (एकीकृत समाजवादी)का नगरस्तरीय नेताहरूले संयुक्त विज्ञप्ति जारी गर्दै स्वास्थ्य बीमा सेवा धुलिखेल सामुदायिक अस्पतालमै यथास्थानमै निरन्तरता दिन माग गरेका थिए।

उनीहरूले स्वास्थ्य बीमा बोर्ड र नेपाल सरकारसँग बीमा सेवा स्थगन नगरी पहिलेकै स्थानमा सेवा प्रवाह गर्न आग्रह गरेका हुन्।

तर, संयुक्त विज्ञप्तिमा नेकपा (एमाले) धुलिखेल नगर कमिटीका अध्यक्ष विष्णु धिताल ‘काभ्रेली’को हस्ताक्षर भने देखिँदैन। बैठकमा सहभागी एक नेताका अनुसार अध्यक्ष धिताल बैठकको निर्णयमा सहमत भए पनि विज्ञप्तिमा हस्ताक्षर नगर्नु प्राथमिक सेवा केन्द्रमार्फत रिफरल सेवा दिने प्रस्तावप्रति असहमति जनाएकाे हुन सक्ने संकेत मिलेको छ।

यसै सन्दर्भमा टुकी नेटवर्कसँगको कुराकानीमा अध्यक्ष धितालले भने, “सेवा प्रवाह गर्ने जिम्मेवारी स्थानीय सरकारको हो। तर, विविध कारणले स्थानीय तहले सेवा दिन सकेको छैन। भौतिक संरचना र जनशक्तिको अभावका कारण अहिलेका लागि धुलिखेल सामुदायिक अस्पतालबाट नै सेवा निरन्तरता दिनुपर्ने अवस्था छ। प्राथमिक सेवा केन्द्रमार्फत सेवा दिने तयारीबारे छुट्टै पहल गरिने निर्णय भएकोले विज्ञप्ति निकाल्न जरुरी ठानेनौं।”

धितालले परिस्थिति बुझेपछि मात्रै धारणा बनाइनु उपयुक्त हुने धारणा राखेका छन्। यद्यपि, अन्य पाँच दलले विज्ञप्तिमार्फत सेवा पुनः सामुदायिक अस्पतालमै सुनिश्चित गरिनुपर्नेमा जोड दिएका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *