समाचार
विश्व कविता दिवस सन्दर्भ कविता :- निसाफ

सरोज उपाध्याय
तिम्रा चिल्ला रेशमी भाषामा
झुटैझुटको अनौठो मेल छ
तिम्रा व्यस्तताका परिभाषामा
झुटैझुटको झेली खेल छ
खस्रो भयो त के भयो ?
लाज त खद्दर कै कपडाले छेकियो !
मलमल मुलायम छान्यौ
र त सबै छ्यांगछ्यांगती देखियो !
तिम्रा चुलिएका अस्वभाविक शानहरुमा
घमण्डका तिखा घोचहरु छन्
तिम्रा थपिएका अस्थायी मानहरुमा
आडम्बरका घटिया सोचहरु छन्
आंखीझ्यालमा दुला भएर के भयो ?
आखिर लिला त्यहि दुलाबाटै देखियो !
झ्याल ठुलो शिशाकै लगायौ
र त पुरै बाक्लो पर्दाले छेकियो !
तिम्रा हर हाउभाउ र लमक झमकहरुमा
संसारलाई झुक्याउने चालहरु छन्
तिम्रा बहुरुपी चमक झमकहरुमा
दुनियांलाई छक्याउने ईन्द्रजालहरु छन्
भोज र मोज गरेर के भयो ?
आखिर बिसर्जन मलमुत्र मै लेखियो !
जवानीको व्यापार त धेरै चम्कायौ
र त लुकेको संरचना सबतिर देखियो !


