समाचार
नागार्जुनकाे नियमित काव्य गाेष्ठीमा कविताकाे रसस्वादन

माघ१९ शनिबार ,२०८१
भवकेशर बराल
काठमाडौ । साहित्यको संसारमा छलाङ मार्दै गरेकाे संस्था `नागार्जुन वाङमय प्रतिष्ठान´ले बागबजारमा सुप्रभात काव्यगोष्ठी सम्पन्न गरेको छ। संस्थाले प्रत्येक महिनाकाे तेस्रो शनिबार नियमित रुपमा गरेको कार्यक्रमलाई आज पनि निरन्तरता दिएको हो । उक्त कार्यक्रमको सभापतित्व प्रतिष्ठानका अध्यक्ष दिल पौडेलले गर्नु भएको थियो भनेे प्रमुख अतिथी प्रदीप नेपाल (शीतविन्दु)ले गर्नुभएको हो ।
प्रतिष्ठानकाे `स्रष्टाविशेष´ शृङ्खलामा `साहित्य सन्ध्या´का अध्यक्ष रामविनय रहनु भएको थियो । कार्यक्रममा डा. हरिप्रसाद सिलवाल र डा. विनोद मञ्जनले समालोचकको भूमिका निर्वाह गर्नु भएको थियो । कार्यक्रममा प्राडा कपिल लामिछाने, वैरागी जेठा, प्रकाश सिलवाल लगायत करीब तीन दर्जन स्रष्टाहरूको सहभागिता रहेकोे थियोे। युवराज नास्तिकले सञ्चालन गर्नु भएको कार्यक्रममा कवि तथा साहित्यकारहरुकाे व्यापक उपस्थिति रहेको थियो ।
रचनावाचनको प्रारम्भ स्रष्टाविशेषबाट भएको थियो। यस क्रममा रामविनयले पहिलो चरणमा ३ वटा रचना `म आएको छु´ `हीरा थारू´ र `जराको स्वर´ प्रस्तुत गर्नुभयाे भने दाेस्राे चरणमा थप तिनवटा गरि जम्मा ६ कविता वाचन गर्नु भएको हो ।
अन्य कविहरु अनुराधा थापाले`फुलून् हाँसोका फूल´, लक्ष्मणदेव पाण्डे `ऊ भागिरहेको छ´, लोकेन्द्र रावल `मैले नदेखेको उचाइ´ नमुना शर्मा `मरे पनि अमर हुन्छन्´ गीत, गोपालकुमार मैनाली `सहिद´ हिन्दी भाषाको कविता, नन्दु उप्रेती `पहाड पहिरोमा खसिरहेको वेला´ पर्याकविता, तारानिधि पोखरेल `चटके´व्यङ्ग्यमूलक कविता, गंगा खतिवडा `देशको चिन्ता´, शिवहरि पाण्डे `खबरदार कमरेड´ अनिता लामा `गजुर´जस्ता रचना वाचन गर्नु भएको थियो ।
देवी पराजुली `बुवा´ कविता र `हामी नारी´ गीत, बलराम विष्ट `राष्ट्रियता´, माधव घिमिरे अटल `भाडा´, जगत् वाशिष्ट `मदन फेरि जन्म लेऊ´, इन्दिरा निरौला ` म यस्तो देशको नागरिक´ गंगा भेटवाल `मण्डन देउपुर´ र भारद्वाज मित्र `फर द नोबल कल´ अङ्ग्रेजी भाषाको कविता वाचन गर्नु भएको थियो ।
स्रष्टाविशेषका रूपमा वाचित रामविनयज्यूका वाचित ६ ओटा रचनामाथि समालोचक डा हरिप्रसाद सिलवालबाट समालोचनात्मक टिप्पणी प्रस्तुत गर्दै समाजको रूपान्तरणमा रामविनयको स्थानका विषयमा विमर्श राख्नुभएको थियो।
तत्पश्चात् प्रमुख अतिथि शीतविन्दुबाट स्रष्टा रामविनयलाई स्रष्टाविशेष सम्मान अर्पण गर्दै जबसम्म मानव जातिको अस्तित्व रहन्छ तबसम्म साहित्यको सृजना रहिरहने विचार राख्दै `विनाअनुहारको रात´ कवितासमेत सुनाउनुभएको थियो।
रचनाक्रमकै निरन्तरतामा जयराम बिडारी `मुक्तकहरू´, नवीन पल्लभ `मुक्तकहरू´, रुवी सत्याल `सत्य युग´, चन्द्रकलम चौलागाईं ` नबिर्स है नेपाली´ गीत, भावकेशर बराल `सहिदलाई प्रश्न´, दिनेश खरेल `मानवता पुजिने देश´, सुदीप पाण्डे `अरूले के सोच्यो के सोचेन´, यसोदा गिरी `रवि नपुग्ने ठाउँमा पुग्छन् कवि´, विमला ढकाल समीक्षा `मलाई मेरो परिचय चाहियो´, दिनविनोद खड्का `हाइकुहरू´ थारू, अङ्ग्रेजी र नेपाली भाषामा, मिसन अधिकारी `गजल´ कुञ्जराज थापा संक्षिप्त मन्तव्य र कविता र अन्त्यमा युवराज नास्तिक `रित्तो गाग्री´ तथा दिल पौडेलको `सहिदको ब्लुप्रिन्ट´ कवितासँगै काव्यगोष्ठी शृङ्खला पूरा भएको थियोे।
तत्पश्चात् डा विनोद मञ्जनद्वारा वाचित रचनामाथि समीक्षात्मक टिप्पणी प्रस्तुत गर्नुभयो। प्रतिष्ठानका अध्यक्ष तथा कार्यक्रमका सभापति दिल पौडेलले धन्यवादज्ञापनसहित काव्यगोष्ठीको समापन गर्नुभएको थियो।

