समाचार

सौर्य जहाज दुर्घटनापीडितको गुनासाे:- सरकारले कानुन मिचेर आयाेग बनायो

माघ,९ बुधबार ,२०८१
काठमाडौँ । सौर्य जहाज दुर्घटनाका पीडित परिवारले न्याय नपाएको गुनासो गरेका छन् । १८ जनाको ज्यान जाने गरी गत ९ साउनमा भएको दुर्घटनाको छैटौँ मासिकको पुण्यतिथि (६ महिना) मा नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालयको सहयोगमा महासंघकै सभाहलमा बुधबार आयोजित अन्तक्र्रिया कार्यक्रममा पीडित परिवारले दोषीलाई उन्मुक्ति दिने गरी छानबिन आयोगले नियोजित प्रतिवेदन तयार पारेको गुनासो गरे ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका उपाध्यक्ष उमिद वागचनले महासंघको परिवारको सदस्यलाई परेको पीडाको स्वामित्व लिने बताए । ‘उहाँले अघि बढाउनुभएको अभियानलाई हामी सबैले सहयोग गर्नुपर्छ । यहाँले अघि बढाएको अभियानमा महासंघको साथ छ । विषयबस्तुको उठान गरेर कानुनी कारबाहीका लागि राज्यलाई दबाब दिन सकिन्छ ।’ उनले भने ‘गलत प्रवृत्तिको अन्त्य हुनुपर्छ । कसैको कारणले कसैको ज्यान जाने खालको वातावरण बन्नुभन्दा ठूलो अन्याय अरु कुनै पनि हुँदैन ।’

कार्यक्रममा छोरी, ज्वाइँ र नाति गुमाएको पत्रकार प्रकाश खतिवडाले उडान नै गैरकानुनी भएको दाबी गरे । उनले भने, ‘उडान गैरकानुनी छ, यात्री गैरकानुनी छन्, एयरलाइन्स कम्पनीको हर्कत गैरकानुनी छ । कानुन मिचेर सरकारले अनुसन्धान आयोग बनाएको छ । एयरलाइन्सरलाइन्स कम्पनीको आर्थिक चलखेलमा दोषीलाई उन्मुक्ति दिन प्रतिवेदन तयार गरेको छ । अनि यो घटनालाई कसरी आकस्मिक, भवितव्य वा दुर्घटना मात्रै हो भनेर चित्त बुझाउन सकिन्छ ? त्यसैले सौर्य जहाज दुर्घटना होइन, जघन्य अपराध हो ।’

पीडित खतिवडाले राज्यसँग दर्जनौँ प्रश्न गरे । उनले आफूले जस्तो अरु कसैले पनि नियति भोग्न नपरोस् भनेर अभियान सञ्चालन गरेको जानकारी दिए । उनले भने, ‘घटनामा मैले तीन सन्तति गुमाएँ तर यो नियति फेरि कसैले भोग्नु नपरोस् । कागज मिलाएर गर्ने बदमासी र त्यसबाट आउने दुष्परिणाम नदोहोरियोस्, घटनाको निष्पक्ष छानबिन गरियोस् । नेपालको हवाई यात्रा सुरक्षित होस् र सन्ततिको सम्झनालाई चीरस्थायी बनाउन र उनीहरूलाई जीवित राख्न समाजिक अभियानहरू चलाउन सकियोस् ।’

घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही र पीडितलाई उचित क्षतिपूर्तिका लागि नेपाल पत्रकार महासंघसहित सञ्चारजगतको साथ, सहयोग र खबरदारीको अपेक्षा पीडितपक्षले गरेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *