समाचार
शनिवारीय कविता :- `ढुङ्गा पगाल्नु छ´

रचना :- प्रेम बहादुर भुजेल
इन्द्रावती तरेर सुनकोशीमा भेटौं न ,
भिमसेन स्थान पुगेर मनोकामना भाकौं ,
बहुसंस्कृतीकाे झाँकीमा मौलिक नाँच नाचौं ।
ए माँझी दाइ !
फुर्लुङैमा माछा बोकि डुङ्गा तरौंन ।
नाँगी चुच्चे ढुंङ्गाबाट फल्टे फाँट हेरौं
गरा,गरा आलीमा सुनझै,धानका बाला झुलेका
हिरा झै हिमाल टल्केका ,मनमै कैद गरौं न ।
भुम्लुको तामाङ सस्कृती डम्फु बजेको तालैमा
ए तामाङनि दिदी !
तामाङ सेलोमा मनको बह घन्काउ ।
भुम्लुको उर्वर माटोमा उम्रेका हाम्रा मुना हो
प्रतिभाको प्रकाशलाई संसार भरी छर्ने हो ।
ढुङ्गा पनि पगाल्नु छ, पानीमा आगो सल्काउनु छ ,
ए दिदी बहिनी हो !
शक्तिको ढोका खोलौ न ।
उच्च-निच्च ,धनी-गरीब ,छुवाछूतको प्रथालाई
चेतनाको बाढीले लछारेर फाल्नु छ ।
प्रकृतीको उपहार सदुपयोग हामी सबैले गरौं ।
ए युवा, दाजुभाइ ,दिदिबहिनी हो ।
यो हाम्रो भुम्लुलाई संसारकै राम्रो बनाउन्।

