समाचार
रोजगारदाताहरू सम्मानित

१८ शुक्रबार ,२०८०
काठमाडौं । अपाङ्गता भएका व्यक्तिहरूलाई रोजगारीमा समावेश गरेका ९ वटा निजी संस्थाहरूलाई सम्मान गरिएको छ । नेपाल अपाङ्ग मानव अधिकार केन्द्रको आयोजना तथा डिडिपि युकेको साझेदारीमा अपाङ्गता भएका व्यक्तिहरूलाई रोजगारीमा समावेश गरेकोमा सो निजी संस्थाहरूलाई राजधानीमा सम्मान गरिएको हो ।
नेपाल सरकार, महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री सुरेन्द्रराज आचार्यको प्रमुख आतिथ्यता तथा राष्ट्रिय सभा सदस्य एवं दिगो विकास तथा सुशासन समितिका सभापति प्रकाश पन्थको विशेष आतिथ्यतामा ६ वटा नीजि र ३ वटा गैरनाफामुलक संस्थाहरूलाई सम्मान गरिएको हो । सम्माननित हुने ती निजी संस्थाहरूमा मेरोजब लिमिटेड, प्रभु म्यानेजमेन्ट प्रा. लि., सुबिसु केबलनेट, क्लाउड फ्याक्ट्री नेपाल, होटेल हार्दिक र टि–ट्वान्टीवान क्याफे तथा गैरनाफामुलक संस्थाहरूमा बिआईए इन्स्टिट्युट, काठमाण्डौँ मोडल अस्पताल र कोथिना मिठो छ स्कुल अफ हस्पिटालिटि रहेका छन् ।
अपाङ्गता भएका व्यक्तिहरूलाई रोजगारीमा समावेश गरेर उदाहरणिय कार्य गरेकोमा मन्त्री आचार्यले “सरकारले पनि अपाङ्गता भएका व्यक्तिहरूको सशक्तिकरणका लागि रोजगारीलाई नै केन्द्रबिन्दु बनाएर कार्य गरिरहेको” बताउँनु हुँदै उहाँले अपाङ्गता भएका व्यक्तिहरूलाई रोजगारीमा जोडेका संस्थाहरूलाई सम्मान गरेकोमा नेपाल अपाङ्ग मानव अधिकार केन्द्रलाई धन्यवाद व्यक्त गर्नुभयो ।
नेपाल अपाङ्ग मानव अधिकार केन्द्रका अध्यक्ष तारा बदन सेढाईले सभापतित्व गर्नुभएको सो कार्यक्रममा प्रतिनिधि सभा सदस्य कालुराम राई (केआर खुम्बु), बागमती प्रदेश सभा सदस्य लक्ष्मी घिमिरे, महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका सहसचिव रामकृष्ण लामिछाने, उपसचिव एवं अपाङ्गता अधिकार प्रवर्धन शाखाका शाखा प्रमुख जमुना मिश्र, राष्ट्रिय अपाङ्ग महासंघ नेपालका अध्यक्ष देवीदत्त आचार्यको आतिथ्यता रहेको थियो । कार्यक्रममा अपाङ्गता क्षेत्रमा काम गर्ने विभिन्न संघसंस्थाका प्रतिनिधि लगायत ६० जना भन्दा बढिको सहभागिता रहेको थियो ।



