शैलेन्द्र साकार
आज अकस्मात
अनायास हात र आँखाहरुले
फाेनमा खाेज्याे तयहि नाम
जाेसंग बारम्बार कुराकानी भैरहन्थ्याे
नाम र नम्बर छ , ऊ छैन
केही दिन अघि मात्र
एक्कासी हृदयघातले
अकस्मात ढल्याे ऊ
अस्पताल पनि पुर्याउन नपाई
केही परिचित अपरिचित व्यक्तिहरुले
एकै पटक पुर्याए आर्यघाट ।
शरीर नाश भैसकेपछि
तस्बिरमा मुस्कुराई रहेको उसलाई
दर्शन गर्न मात्र पुगे म ।
विदा भएर फर्के उहीँ पुरानो
ढाक्े र अकल्पनीय जिन्दगीमा
कहिले एकदम बफुर्सद जस्तो दौडादौड
र,कहिले वृद्व अशक्त राेगी जस्तो ढल्किरहने
निवृत्त जिन्दगीमा फर्के म।
समयले डिलिट भिच्न लगाउदै छ
उसको नाम
मेरा अौलाहरु बढिरहेका छैनन्
फाेनकाे कललगमा राखिरहन चाहन्छ मन
उसको नाम
तर नयाँ नामहरुलाई त्यस माथि पुन:लेख्न
डिलिट गर्नु पर्ने छ उसको नाम । ( साकारकाे यो कविता २०६६ सालकाे ज्ञानगंगा द्वैमासिक साहित्यिक पत्रिकाबाट साभार गरिएको हो ।)


