मंसिर २२
काठमाडौं । त्रिभुवन विश्वविद्यालय आगामी फागुनमा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको तयारीमा जुटेको छ ।
विसं २०६५ देखि नियमित हुन नसकेको स्ववियु निर्वाचन यसपटक निर्धारित मिति आगामी फागुन १४ गते गर्ने तयारीमा त्रिवि रहेको छ । त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले सबै निर्वाचन सकिएकाले अब त्रिवि स्ववियु निर्वाचनको तयारीमा लाग्ने बताउनु भयो । ‘सबै निर्वाचन सकिए, अब हामी पनि नियमित हुन नसकेको स्ववियु निर्वाचनको तयारीमा लाग्छौं’,उहाँले भन्नू भयो ‘सबै विद्यार्थी सङ्गठनसँग छलफल गरेर फागुनमा निर्वाचन गर्ने तयारीमा हामी जुट्छौं ।’
त्रिवि क्याम्पसमा विगत लामो समयदेखि स्ववियु निर्वाचन हुन सकेको छैन । प्रत्येक दुई/दुई वर्षमा हुने निर्वाचन २०६५ सालयता नियमित हुनसकेको छैन । त्रिविले शैक्षिक क्यालेण्डरमा नै हरेक दुई वर्षमा फागुन १४ गते स्ववियु निर्वाचनको कार्यतालिका राखेर निर्वाचन गराउँदै आएको थियो । विसं २०६५ सम्म नियमित हुँदै आएको निर्वाचन अहिले भने रोकिएको छ ।
विसं २०६५ चैत ६ गतेपछि एकै पटक आठ वर्षमा २०७३ चैत १५ गते भएको थियो । त्यतिबेला देशभरि त्रिविका ६२ आङ्गिक क्याम्पसमध्ये रत्नराज्य क्याम्पस (आरआर), जनप्रशासन क्याम्पससहित उपत्यकामा नौ वटा आङ्गिक र उपत्यका बाहिर १७ क्याम्पसमा मात्र स्ववियु निर्वाचन भएको थियो ।
अठाईस वर्ष उमेरहद र मिश्रित निर्वाचन प्रणाली लागू भएपछि त्रिविका क्याम्पसमा नियमति स्ववियु निर्वाचन भएको छैन । पछिल्लो पटक उमेरहद र मिश्रित निर्वाचन प्रणाली लागू भएपछि पहिलो पटक विसं २०७३ मा आंशिक रुपमा केही क्याम्पसमा मात्र निर्वाचन भएको थियो । त्रिविले स्ववियु निर्वाचन गर्न पटक–पटक पहल गरे पनि हुनसकेको छैन ।
नेपाल विद्यार्थी संघ गणेश बहुमुखी क्याम्पसका इकाई सभापति सुरज नेपाल त्रिविकाे कार्य स्वागत याेग्य रहेको बताउनु हुन्छ । उहाँले भन्नुभयो ” विगत लामो समय देखि हुन नसकेको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन फाल्गुन १४ गते हुने तयारी रहेकाे सुचना सार्वजनिक भएको छ याे स्वागत याेग्य रहेको छ।


